बजेट

डोल्पाका सात पालिकाले ल्याए बजेट, त्रिपुरासुन्दरीको सबैभन्दा बढी

रामचन्द्र न्याैपाने,
डाेल्पा । हिमाली जिल्ला डोल्पाका सात स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेका छन्। जिल्लामा रहेका आठ स्थानीय तहमध्ये सात पालिकाले बजेट सार्वजनिक गरेका छन् भने मुड्केचुला गाउँपालिकाले बजेट सार्वजनिक गर्न बाँकी छ।
सार्वजनिक भएका बजेटमध्ये सबैभन्दा बढी बजेट त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक गरेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ८७ लाख ७५ हजार ६ सय ४ रुपैयाँ ६० पैसा बराबरको बजेट सार्वजनिक गरेको हो।
सार्वजनिक बजेट नगरसभाको बन्द सत्रबाट अनुमोदन गरिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी ठूलीभेरी नगरपालिकाले ५० करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख श्ववर्णकुमार बुढाका अनुसार असार ८ गते नीति तथा कार्यक्रम प्रस्तुत गरी असार ९ गते नगरसभाबाट सर्वसम्मत रूपमा बजेट पारित गरिएको हो।
ठुलिभेरी जिल्लामै सबैभन्दा पहिला बजेट ल्याएको हाे ।
काइके गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३३ करोड ३७ लाख ४९ हजार १ सय ८३ रुपैयाँ ८० पैसा बराबरको बजेट ल्याएको छ।
गाउँपालिका अध्यक्ष अंगदकुमार रानाले बजेट जनताको अपेक्षा र आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको बताए।
शे–फोक्सुण्डो गाउँपालिकाले ३३ करोड ८ लाख २४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ भने जगदुल्ला गाउँपालिकाले ३० करोड २१ लाख ३६ हजार ३६ रुपैयाँ बराबरको बजेट ल्याएको छ।
गाउँसभाबाट पारित बजेटमध्ये १३ करोड १३ लाख ६० हजार रुपैयाँ पुँजीगत तथा १७ करोड ७ लाख ७६ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ।
यस्तै आर्थिक विकासतर्फ १ करोड ८४ लाख ६६ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ९ करोड ५ लाख ६० हजार रुपैयाँ तथा सामाजिक विकासतर्फ ७ करोड ८३ लाख ८५ हजार रुपैयाँ छुट्याइएको छ।
आजै बजेट ल्याएर पारित गरेकाे जगदुल्लाले प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौती भए पनि उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै बजेट ल्याइएको गाउँपालिका अध्यक्ष नारासिं रोकायले बताए।
आर्थिक सुुशासन कायम गर्न जिल्लामै अब्बल पालिकका भएपनि कर्णाली प्रदेश सरकारले दिने अनुदान कम आउँदा गतबर्ष भन्दा बजेट घटेकाे गाउँपालिकाले जनाएको छ ।
डोल्पोबुद्ध गाउँपालिकाले २८ करोड १३ लाख ९० हजार ६ सय ६६ रुपैयाँ ६० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ।
छार्काताङसोङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २७ करोड ९० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
यता जिल्लाका अन्य स्थानीय तहले बजेट सार्वजनिक गरिसक्दा मुड्केचुला गाउँपालिकाले भने अझै बजेट ल्याउन सकेको छैन। गाउँपालिकाकी उपाध्यक्ष दुदा रोकायाका अनुसार अध्यक्ष दत्तबहादुर शाहीकी आमा बिरामी भई उपचारका लागि जिल्ला बाहिर रहेकाले बजेट सार्वजनिक गर्न ढिलाइ भएको हो। केही दिनभित्रै गाउँसभा सम्पन्न गरी बजेट सार्वजनिक गरिने उनले बताइन्।



तपाईको प्रतिक्रिया