डाेल्पा । नेपालको सबैभन्दा ठूलो तथा दुर्गम हिमाली जिल्लामध्ये एक डोल्पामा स्वास्थ्य सेवा प्रवाह गर्नु राज्यका लागि सधैं चुनौतीपूर्ण विषय रहँदै आएको छ। करिब ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला भौगोलिक रूपमा अत्यन्त विकट छ। हिमाल, अग्ला पहाड, सीमित सडक सञ्जाल, कठोर मौसम र छरिएका बस्तीका कारण यहाँका नागरिकले सामान्य उपचारका लागि समेत दिनौंसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था अझै पूर्ण रूपमा अन्त्य भएको छैन।

डोल्पा जिल्ला अस्पतालको स्थापना
डोल्पा जिल्लामा संस्थागत स्वास्थ्य सेवाको सुरुआत वि.सं. २०१८ सालमा स्वास्थ्य केन्द्रका रूपमा भएको मानिन्छ भने उक्त स्वास्थ्य केन्द्रलाई क्रमिक रूपमा स्तरोन्नति गर्दै हालको डोल्पा जिल्ला अस्पतालको स्थापना वि.सं. २०४८ साल (सन् १९९१) मा गरिएको हो, जसको पुष्टि अस्पताल पूर्वाधार मूल्याङ्कनसम्बन्धी प्रतिवेदनले समेत गरेको छ।
स्थापना पश्चात् अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति तथा सेवा क्षमताको क्रमिक विकास गर्दै लगिएको थियो। सोही क्रममा निर्माण सम्पन्न अस्पताल भवनको औपचारिक उद्घाटन वि.सं. २०६१ साल फागुन ७ गते तत्कालीन क्षेत्रीय प्रशासक टिकाराम अर्यालबाट सम्पन्न भएको थियो भने तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. पुरुषोत्तमराज सेढाईको नेतृत्वमा अस्पतालको प्रारम्भिक सेवा सञ्चालन तथा संस्थागत विकासका कार्यहरू अघि बढाइएको थियो।

डोल्पा जिल्ला अस्पताल आज हिमालपारिका हजारौं नागरिकका लागि उपचारको प्रमुख आधार र जीवनरक्षक भरोसा बनेको छ। यद्यपि अस्पताल १५ शय्याका लागि स्वीकृत भए पनि बिरामीको बढ्दो चापका कारण स्वीकृत क्षमताभन्दा बढी बिरामीलाई समेत सेवा प्रदान गर्दै आएको छ।
वि.सं. २०४८ सालमा स्थापनाका बेला प्राथमिक अस्पतालका रूपमा सेवा सुरु गरेको अस्पतालले समयक्रमसँगै पूर्वाधार, सेवा र व्यवस्थापनमा उल्लेखनीय विस्तार गरेको छ। अस्पताल परिसरमा विभिन्न चरणमा नयाँ भवन, प्रसूति इकाइ तथा अन्य आवश्यक संरचना निर्माण भएका छन्।

जिल्ला अस्पताल विकास समिति
अस्पतालको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन वि.सं. २०६४ सालमा डोल्पा अस्पताल विकास समिति गठन गरिएको थियो। हाल जिल्ला अस्पताल विकास समितिको नेतृत्व अध्यक्ष कमलबहादुर शाहीले गरि रहनुभएको छ। उहाँको नेतृत्वमा अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा संस्थागत विकासका विभिन्न कार्यहरू सञ्चालन हुँदै आएका छन्।
संघीय संरचना कार्यान्वयन
संघीय संरचना कार्यान्वयनपछि डोल्पा जिल्ला अस्पताललाई स्वास्थ्य सेवा कार्यालयअन्तर्गत राखिएको छ। हाल अस्पतालले स्वास्थ्य सेवा कार्यालयको मातहतमा रही जिल्ला स्तरका विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवाहरू सञ्चालन गर्दै आएको छ।
सेवा विस्तारको आवश्यकता बढ्दै गएपछि डोल्पा जिल्ला अस्पताललाई २५ शय्यामा स्तरोन्नति गर्ने प्रस्ताव सम्बन्धित निकायमा पेश गरिएको छ। प्रस्ताव स्वीकृत भए अस्पतालको जनशक्ति, पूर्वाधार र सेवा क्षमतामा थप विस्तार हुने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सिजन रावलको अपेक्षा छ।

उपलब्ध स्वास्थ्य सेवा
डोल्पा जिल्ला अस्पतालमा हाल निम्न सेवा सञ्चालनमा छन् ।
- आकस्मिक (Emergency) सेवा
- बाह्य तथा अन्तरङ्ग (OPD/IPD) सेवा
- सुरक्षित मातृत्व तथा प्रसूति सेवा
- शल्यक्रिया सेवा
- फिजियोथेरापी सेवा
- एनेस्थेसिया सेवा
- प्रयोगशाला सेवा
- एक्स-रे तथा अल्ट्रासोनोग्राफी
- अस्पताल फार्मेसी सेवा
- आँखा परीक्षण तथा चस्मा वितरण सेवा
- खोप तथा जनस्वास्थ्य कार्यक्रम
- परिवार नियोजन सेवा
- पोषण तथा मातृ-शिशु स्वास्थ्य सेवा
- लैङ्गिक हिंसा तथा हिंसापीडित सहायता सेवा (OCMC)
- सामाजिक सेवा एकाइ (SSU)
- टेलिमेडिसिन तथा डिजिटल स्वास्थ्य सेवाको प्रारम्भिक प्रयोग
आठवटै स्थानीय तहको प्रमुख रेफरल अस्पताल
ठूलीभेरी नगरपालिका दुनैस्थित यो अस्पताल डोल्पा जिल्लाको प्रमुख सरकारी रेफरल स्वास्थ्य संस्था हो। शे-फोक्सुण्डो, डोल्पो बुद्ध, छार्का ताङ्सोङ, काइके, जगदुल्ला, मुड्केचुला, त्रिपुरासुन्दरी र ठूलीभेरीका नागरिकका लागि यो अस्पताल उपचारको पहिलो गन्तव्य बनेको छ।
कतिपय गाउँबाट बिरामीलाई अस्पताल ल्याउन अझै पनि एकदेखि तीन दिनसम्म पैदल हिँड्नुपर्ने अवस्था छ। जिल्लाका धेरै बस्ती अझै सडक सञ्जालसँग पूर्ण रूपमा नजोडिएकाले बिरामीलाई स्ट्रेचर, घोडा वा भरियामार्फत अस्पताल ल्याउनुपर्ने अवस्था कायमै छ। कतिपय गम्भीर बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने बाध्यता अझै रहेको छ। यसले डोल्पामा स्वास्थ्य सेवा उपलब्ध गराउनु केवल चिकित्सकीय विषय नभई भौगोलिक चुनौतीसँगको निरन्तर संघर्ष भएको देखाउँछ।

रणनीतिक अस्पताल कार्यक्रम
रणनीतिक अस्पताल कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा कार्यालय डोल्पाको समन्वयमा मुड्केचुला गाउँपालिका तथा त्रिपुरासुन्दरी नगरपालिकामा चिकित्सकीय सेवा विस्तार गरिएको छ। यस कार्यक्रममार्फत दुर्गम बस्तीका नागरिकलाई स्थानीय तहमै चिकित्सकीय परामर्श, उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
सामान्य उपचारदेखि शल्यक्रियासम्म
सामान्य उपचार केन्द्रका रूपमा सुरु भएको अस्पतालले अहिले आकस्मिक सेवा, बाह्य तथा अन्तरङ्ग बिरामी सेवा, सुरक्षित मातृत्व, शल्यक्रिया, प्रयोगशाला, एक्स-रे, अल्ट्रासोनोग्राफी, फार्मेसी, खोप, परिवार नियोजन, पोषण तथा विभिन्न जनस्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संघीय तथा कर्णाली प्रदेश सरकारको सहयोगमा अस्पतालले सेवा विस्तारलाई निरन्तरता दिएको छ। आवश्यकताअनुसार विशेषज्ञ चिकित्सक परिचालन, जटिल बिरामीका लागि रेफरल प्रणाली सुदृढीकरण तथा टेलिमेडिसिनमार्फत विशेषज्ञ परामर्श उपलब्ध गराउने अभ्यासले दुर्गम जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुगेको छ। यसले जिल्ला बाहिर जानुपर्ने केही बिरामीलाई आफ्नै जिल्लाबाट विशेषज्ञ परामर्श प्राप्त गर्ने अवसर दिएकोछ।

विशेषज्ञ जनशक्ति
डोल्पा जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनका लागि कन्सल्टेन्ट फिजिसियनको स्वीकृत दरबन्दी रिक्त रहे पनि निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सिजन रावलले कन्सल्टेन्ट फिजिसियनका रूपमा विशेषज्ञ सेवा प्रदान गर्दै आउनुभएको छ। त्यसैगरी, छात्रवृत्ति करारअन्तर्गत कार्यरत एमडीजीपी (MDGP) चिकित्सक डा. बिदुर तिवारीले पनि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै अस्पतालको सेवा प्रवाहलाई निरन्तरता दिइरहनुभएको छ।
स्वीकृत दरबन्दी
स्वास्थ्य सेवा कार्यालय, डोल्पाको चिकित्सा सेवा शाखाअन्तर्गत एक जना कन्सल्टेन्ट फिजिसियन, एक जना कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ (Obstetrician/Gynecologist) र एक जना कन्सल्टेन्ट सर्जनको दरबन्दी रहे पनि हाल ती सबै पद रिक्त छन्। यसैगरी, एक जना मेडिकल अधिकृत डा. अजय प्रसाद पाण्डे र एक जना डेन्टल सर्जन डा. अस्मिता कुमारी भण्डारीको मात्र पदपूर्ति भएको अवस्था छ। साथै, मेडिकल रेकर्ड सुपरभाइजरको दरबन्दीसमेत लामो समयदेखि रिक्त रहँदा अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहमा थप चुनौती देखिएको छ।

कार्यरत जनशक्ति
हाल अस्पतालमा २ जना विशेषज्ञ, ५ जना मेडिकल अधिकृत, १ जना नर्सिङ्घ अधिकृत, १ जना फार्मेसी सुपरभाइजर, १ जना एनेस्थेसिया सहायक, प्रयोगशाला प्राविधिक, रेडियोग्राफर, प्रशासनिक तथा अन्य स्वास्थ्यकर्मी गरी करिब ६० जना कार्यरत छन्। सीमित जनशक्तिका बाबजुद २४ सै घण्टा आकस्मिकसहित नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ।
सीमित जनशक्ति, ठूलो जिम्मेवारी
दुर्गम हिमाली जिल्लामा विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मी टिकाइराख्नु अस्पतालको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो। यद्यपि चिकित्सक, नर्स, फार्मेसी, प्रयोगशाला, रेडियोग्राफी तथा अन्य स्वास्थ्यकर्मीहरूले सीमित साधनस्रोतका बीच निरन्तर सेवा दिँदै आएका छन्।
डा. रावलका अनुसार विगतको तुलनामा अहिले धेरै बिरामीले जिल्लामै उपचार पाउन थालेका छन्। यसले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता, आर्थिक भार तथा समयको बचत गर्न उल्लेखनीय सहयोग पुगेको छ।

सेवा सुधारका सकारात्मक संकेत
पछिल्ला वर्षहरूमा अस्पतालले सुरक्षित मातृत्व सेवा सुदृढीकरण, आकस्मिक उपचार, प्रयोगशाला सेवा विस्तार, औषधि व्यवस्थापन प्रणाली सुधार तथा डिजिटल स्वास्थ्य सेवाको प्रारम्भिक कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको छ।
स्थानीय तहसँगको सहकार्यमा एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्य शिविर, खोप अभियान, पोषण कार्यक्रम, मातृ-शिशु स्वास्थ्य सेवा तथा जनस्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन्। संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयले अस्पतालको सेवा विस्तारलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको डा. रावलले बताउनुभयो ।
अहिले डोल्पा अस्पतालमा जटिल खालका शल्यक्रिया पनि हुन थालेका छन् । हाइड्रोसिल, हर्निया, एपेन्डिक्स, भ्यासेक्टोमी लगायतका शल्यक्रिया नियमित रुपमा सञ्चालन भइरहेका छन् । सिजेरियन (सिएस) सेवा पनि नियमित छ । ट्रमा सम्बन्धी प्राथमिक उपचार र व्यवस्थापनसमेत अस्पतालमै हुन थालेको छ । सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद उल्लेखनीय सङ्ख्यामा बिरामीलाई सेवा प्रदान हुनु डोल्पाजस्तो दुर्गम जिल्लामा स्वास्थ्य सेवाको पहुँच क्रमशः विस्तार भइरहेको संकेतका रूपमा हेरिएको छ।
अस्पतालमा नियमित निरन्तर चिकित्सा शिक्षा (CME), मर्निङ कन्फरेन्स र सरसफाई कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र पेशागत क्षमता निरन्तर अद्यावधिक भएको छ। जटिल बिरामीका केसहरूको छलफल, नयाँ उपचार पद्धति, क्लिनिकल अनुभव आदान-प्रदान तथा उपचारमा भएका त्रुटिबाट सिक्ने अवसरले निर्णय क्षमता र सेवा गुणस्तरमा सुधार आएको देखिन्छ।
एमडीजीपी (MDGP) चिकित्सक डा. बिदुर तिवारीका अनुसार पहिले सामान्य शल्यक्रिया लागि पनि नेपालगञ्ज वा सुर्खेत रेफर गर्नुपर्ने धेरै बिरामी अहिले जिल्लामै उपचार पाउन थालेका छन्। यसले सेवाग्राहीको आर्थिक भार, यात्रा समय र जोखिम घटाउन सहयोग पुगेको छ।

अस्पतालको नर्सिङ्घ अधिकृत मुना रसाइलीका अनुसार एमडीजीपी चिकित्सकको उपलब्धतासँगै अस्पतालमा एपेन्डिक्स, हर्नियालगायत शल्यक्रिया तथा पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। साथै गर्भजाँच (ANC), सुरक्षित प्रसूति तथा परिवार नियोजन सेवा लिने सेवाग्राहीको संख्या पनि बढ्दो क्रममा रहेको छ। अस्पतालमा सञ्चालित आमा-कुरुवा घरबाट पनि धेरै सेवाग्राही लाभान्वित भएका छन्। गर्भवती तथा सुत्केरी महिलाले प्रसूतिपूर्व र प्रसूतिपश्चात् १४ दिनसम्म निःशुल्क बस्न सक्ने व्यवस्था रहेको छ भने आवश्यकताअनुसार बसाइ अवधि थप गर्ने सुविधा पनि उपलब्ध छ।
डोल्पा जिल्ला अस्पतालका फार्मासिस्ट कृष्ण नन्दन मेहताका अनुसार अस्पताल फार्मेसीबाट निःशुल्क औषधि कडा निगरानीका साथ सही र किफायती रूपमा वितरण गरिँदै आएको छ। प्रभावकारी भण्डारण तथा वितरण व्यवस्थापनका कारण औषधि स्टक आउट हुने अवस्था न्यूनीकरण भएको, औषधिको उपलब्धता बढेको तथा म्याद गुज्रिने (Expiry) औषधि नियन्त्रणमा उल्लेखनीय सुधार भएको उनले बताए। उनका अनुसार सःशुल्क औषधि तथा औषधिजन्य सामग्रीहरू सेवाग्राहीलाई आवश्यक परामर्शसहित अधिकतम खुद्रा मूल्य (MRP) वा सोभन्दा कम मूल्यमा उपलब्ध गराइँदै आएको छ। यसबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान हुनुका साथै अस्पताल फार्मेसीको आम्दानीसमेत वृद्धि भएको छ। साथै अस्पतालमा २४सै घण्टा फार्मेसी सेवा सञ्चालनमा रहेको उनले जानकारी दिए।

अस्पतालको भौतिक पूर्वाधार
स्वास्थ्य सेवा विस्तारसँगै डोल्पा जिल्ला अस्पतालको भौतिक पूर्वाधार पनि उल्लेखनीय रूपमा सुदृढ भएको छ। अस्पतालको भौतिक पूर्वाधार विस्तार अन्तर्गत निर्माण सम्पन्न नयाँ अस्पताल भवनको औपचारिक उद्घाटन वि.सं. २०८१ साल जेठ ३ गते तत्कालीन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीबाट सम्पन्न भएको थियो भने तत्कालीन निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनार र चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्याको नेतृत्वमा अस्पतालको सेवा सञ्चालन तथा संस्थागत विकासका कार्यहरू अघि बढाइएको थियो।
अस्पतालमा हाल नयाँ अस्पताल भवन, छुट्टै पोस्टमार्टम (शव परीक्षण) भवन तथा प्रसूति सेवा र बिरामीका आफन्तलाई सहज आवास उपलब्ध गराउने उद्देश्यले आमा-कुरुवा घर सञ्चालनमा छन्। यी पूर्वाधारले दुर्गम जिल्लामा गुणस्तरीय, सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवा प्रवाहमा थप टेवा पुर्याएका छन्।
तथ्याङ्कले देखाउँछ बढ्दो सेवाको पहुँच
डोल्पा जिल्ला अस्पतालले आर्थिक वर्षको पछिल्लो अभिलेखअनुसार कुल १६,८६२ जनाले बहिरङ्ग (ओपीडी) तथा ७७३ जनाले भर्ना (आईपीडी) सेवा प्राप्त गरेका छन्। सोही अवधिमा १५७ वटा सुरक्षित प्रसूति (Delivery), ३० वटा शल्यक्रिया (Surgery), ११२ जना बिरामीको रिफर, तथा ५,२३९ वटा प्रयोगशाला परीक्षण सम्पन्न भएका छन्। त्यसैगरी ४ जना पुरुष र ३ जना महिलाले स्थायी बन्ध्याकरण सेवा लिएका छन्।
अस्पतालले आधारभूत उपचारसँगै विशेषज्ञ तथा प्रविधिमा आधारित सेवासमेत विस्तार गरेको तथ्यांकले देखाउँछ। गत वर्ष ६१ जनाले इकोकार्डियोग्राफी (ECHO), ४४५ जनाले ईसीजी (ECG), ८७२ जनाले टेलिमेडिसिन सेवा, १,९०२ जनाले डिजिटल भिडियो एक्स-रे सेवा, २,४४० जनाले सामान्य एक्स-रे सेवा प्राप्त गरेका छन्। यसैगरी ५०३ जनाले खोप सेवा, ८१७६ जनाले अस्पताल फार्मेसीमार्फत औषधि सेवा, ९६ जनाले एसएसयु सेवा, १८ जनाले ओसिएमसी सेवा, ४ जनाले भ्यासेक्टोमी सेवा, १४ जनाले पोस्टमार्टम सेवा तथा अन्य सेवा लिएका छन्।

डोल्पा जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा. अजय प्रसाद पाण्डेका अनुसार अधिकांश बिरामीलाई जिल्लामै उपचार उपलब्ध गराउन सफल भएकाले जिल्ला बाहिर उपचारका लागि जानुपर्ने अवस्था केही हदसम्म घटेको छ। तथापि जटिल शल्यक्रिया, सघन उपचार तथा केही विशेषज्ञ सेवाका लागि अझै बिरामीलाई सुर्खेत, नेपालगञ्ज वा काठमाडौं रेफर गर्नुपर्ने अवस्था रहेको छ।
चुनौती अझै उस्तै
उल्लेखनीय सुधार भए पनि अस्पतालले अझै धेरै चुनौती सामना गरिरहेको छ। विशेषज्ञ चिकित्सकको अभाव, सीमित शय्या, रक्त सञ्चार सेवा (ब्लड स्टोरेज युनिट) को आवश्यकता, विकट भूगोल, आधुनिक उपकरणको कमी, मौसमका कारण औषधि तथा स्वास्थ्य सामग्री ढुवानीमा हुने समस्या, सीमित बजेट, दक्ष जनशक्ति टिकाइराख्न समस्या तथा जटिल बिरामीलाई समयमै रेफर गर्नुपर्ने अवस्था अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन्।
हिमपातका कारण सडक अवरुद्ध हुँदा औषधि आपूर्ति प्रभावित हुने गरेको छ। कतिपय अवस्थामा प्रतिकूल मौसमका कारण हेलिकोप्टर उडानसमेत सम्भव नहुँदा उपचार व्यवस्थापन थप जटिल बन्ने गरेको छ।
हिमाली जिल्लाका अस्पतालका लागि विशेष जनशक्ति नीति, जोखिम भत्ता, आधुनिक उपकरण, नियमित आपूर्ति प्रणाली तथा दीर्घकालीन सरकारी लगानी अपरिहार्य रहेको देखिन्छ।
अहेब कर्णबहादुर बिकका अनुसार अस्पतालमा मेडिकल रेकर्डरको अभाव छ। हाल अहेबको जिम्मेवारीसँगै मेडिकल रेकर्डको काम पनि सम्हाल्नुपरेको छ। कार्यबोझका कारण EHR समयमै अद्यावधिक गर्न र नियमित रिपोर्टिङ गर्न चुनौती भइरहेको छ।

बिरामी भन्छन् : “पहिलेभन्दा धेरै सहज भएको छ”
ठूलीभेरी नगरपालिकाका एक सेवाग्राही भन्छन्, “पहिले सामान्य उपचारका लागि पनि नेपालगञ्ज जानुपर्थ्यो। अहिले धेरै सेवा जिल्लामै पाइने भएपछि खर्च र दुःख दुवै घटेको छ।”
त्रिपुरासुन्दरीकी एक महिलाले सुरक्षित प्रसूति सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै भनिन्, “पहिले गर्भवती महिलालाई बाहिर लैजानुपर्ने डर हुन्थ्यो। अहिले आफ्नै जिल्लामा सुरक्षित सेवा पाइने भएकाले धेरै राहत भएको छ।”
यद्यपि विशेषज्ञ सेवा अझ नियमित हुनुपर्ने, अत्यावश्यक औषधिको उपलब्धता बढाउनुपर्ने तथा थप आधुनिक उपचार सेवा सञ्चालन गर्नुपर्ने अपेक्षा सेवाग्राहीहरूले व्यक्त गरेका छन्।
स्थानीय सरकारको साथ
ठूलीभेरी नगरपालिका तथा अन्य स्थानीय तहहरूले एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य चौकी सुदृढीकरण, पोषण कार्यक्रम, खोप अभियान तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालनमा अस्पतालसँग सहकार्य गर्दै आएका छन्।

जिल्ला समन्वय समितिको धारणा
जिल्ला समन्वय समितिका प्रमुखका अनुसार डोल्पाजस्तो दुर्गम जिल्लामा स्वास्थ्य सेवा सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अझ प्रभावकारी हुन आवश्यक छ।
उहाँले भन्नुभयो, “डोल्पा जिल्ला अस्पताल केवल उपचार केन्द्र मात्र होइन, जिल्लाको स्वास्थ्य प्रणालीको मेरुदण्ड हो। अस्पताललाई विशेषज्ञ जनशक्ति, आधुनिक उपकरण र पर्याप्त बजेट उपलब्ध गराउन तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ। स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले दुर्गम क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्छ।
भविष्यको मार्गचित्र
डोल्पा जिल्ला अस्पतालले आगामी दिनमा अस्पताल सूचना व्यवस्थापन प्रणाली (Hospital Information System), विद्युतीय स्वास्थ्य अभिलेख (Electronic Health Record), डिजिटल फार्मेसी, अनलाइन रिपोर्टिङ प्रणाली तथा टेलिमेडिसिनलाई थप विस्तार गर्ने योजना अघि सारेको जनाएको छ।
यसका साथै सघन उपचार कक्ष (ICU), एचडीयू, ब्लड स्टोरेज युनिट, आधुनिक प्रयोगशाला, विशेषज्ञ सेवा विस्तार तथा पूर्वाधार स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको डा. रावलले बताउनुभयो।

निष्कर्ष
तीन दशकभन्दा बढी समयदेखि डोल्पा जिल्ला अस्पताल हिमालपारिका नागरिकको स्वास्थ्य सुरक्षाको प्रमुख आधार बनेको छ। सीमित स्रोतसाधन, कठिन भूगोल र जनशक्ति अभावका बाबजुद अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
अब विशेषज्ञ जनशक्ति, पर्याप्त बजेट, अत्याधुनिक उपकरण र दीर्घकालीन स्वास्थ्य नीतिमार्फत अस्पताललाई थप सुदृढ बनाउन सके डोल्पाली नागरिकले आफ्नै जिल्लामा अझ प्रभावकारी र विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा बलियो बन्नेछ। दुर्गम हिमाली जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने राज्यको लक्ष्य प्राप्तिका लागि डोल्पा जिल्ला अस्पतालको सुदृढीकरण अपरिहार्य देखिन्छ।
लेखक
फार्मासिस्ट कृष्ण नन्दन मेहता
फार्मेसी शाखा प्रमुख





नेपाल ईन्फम । २०८३ साउन २ गते शनिवार