रामचन्द्र न्यौपाने,
डोल्पा । ठूलीभेरी नगरपालिकाले कार्यालयको प्रशासनिक सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित विद्युतीय (बायोमेट्रिक) हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ।
नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउन बायोमेट्रिक हाजिरी जडान गरी कार्यान्वयनमा ल्याइएको नगर प्रमुख सुवर्णकुमार बुढाले बताए। उनका अनुसार कर्मचारीको उपस्थितिलाई नियमित र पारदर्शी बनाउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउने वातावरण सुदृढ गर्न उक्त प्रणाली लागू गरिएको हो।
‘विज्ञान र प्रविधिको युगमा सार्वजनिक सेवा पनि समयअनुसार आधुनिक हुनुपर्छ,’ नगर प्रमुख बुढाले भने, ‘नगरपालिकाको कार्यालयबाट सुरु गरिएको यो प्रणाली आगामी दिनमा सबै वडा कार्यालय तथा मातहतका निकायमा विस्तार गरिनेछ।’
उनले बायोमेट्रिक हाजिरीको कार्यान्वयनलाई नगरपालिकाको संस्थागत सुधार र सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा समेत व्याख्या गरे।
निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोषबहादुर खड्काले विद्युतीय हाजिरी प्रणालीले कार्यालयको समग्र कार्यक्षमता बढाउने विश्वास व्यक्त गरे। उनका अनुसार कर्मचारीको समयपालना र उत्तरदायित्व बढ्नुका साथै सेवाग्राहीले समयमै सेवा पाउने वातावरण निर्माणमा यसले सहयोग पुर्याउनेछ।
पछिल्ला वर्षहरूमा डोल्पाका स्थानीय तहहरूले सेवा प्रवाहलाई चुस्त र प्रविधिमैत्री बनाउने भन्दै बायोमेट्रिक हाजिरी प्रणाली जडान गर्ने क्रम बढाएका छन्। तर प्रणाली जडानसँगै त्यसको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन हुन सके मात्र अपेक्षित नतिजा प्राप्त हुने सरोकारवालाहरू बताउँछन्।
यसअघि डाेल्पाेबुद्व गाउँपालिकाले पनि विद्युतीय हाजिरी जडान गरिसकेको छ ।





नेपाल ईन्फम । २०८३ साउन ५ गते मङ्गलवार