स्वास्थ्य

डोल्पा अस्पतालमा एक वर्षमा १६ हजार बढीले लिए सेवा,१ सय ५७ जनाकाे जिल्लामै सुरक्षित प्रसुति

रामचन्द्र न्यौपाने,
डोल्पा । विकट हिमाली जिल्ला डोल्पामा स्वास्थ्य सेवाप्रति नागरिकको भरोसा बढ्दै गएको देखिएको छ।
जिल्ला अस्पताल डोल्पाले गत आर्थिक वर्ष २०८२/०८३ मा १६ हजार ८६२ जनालाई बहिरङ्ग (ओपीडी) सेवा प्रदान गरेको छ। अस्पतालको सेवा विस्तार, उपकरण थप तथा विशेषज्ञ सेवाको पहुँच बढेसँगै उपचारका लागि जिल्ला बाहिर जाने बिरामीको संख्या घट्न थालेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
अस्पतालका अनुसार सोही अवधिमा ७ सय ७३ जना बिरामी अन्तरङ्ग सेवामा भर्ना भएका छन्।
१ सय ५७ सुरक्षित प्रसूति र ३० वटा शल्यक्रिया सम्पन्न भएका छन्।
५ हजार २ सय ३९ वटा प्रयोगशाला परीक्षण गरिएको छ भने १ सय १२ जनालाई थप उपचारका लागि रेफर गरिएको तथ्याङ्क छ।
जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा. अजयप्रसाद पाण्डेले पछिल्ला वर्षमा अस्पतालले सामान्य उपचारसँगै केही जटिल प्रकृतिका सेवासमेत दिन थालेपछि नागरिकको विश्वास बढेको बताए। “पहिले सामान्य उपचारका लागि पनि सुर्खेत वा नेपालगञ्ज जानुपर्ने अवस्था थियो,” उनले भने, “अहिले धेरै सेवा जिल्लामै उपलब्ध हुन थालेका छन्।”
दुर्गम जिल्लामा विशेषज्ञ सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको टेलिमेडिसिन सेवाबाट गत वर्ष ८ सय ७२ जनाले लाभ लिएका छन्। यसमार्फत बिरामीले विशेषज्ञ चिकित्सकसँग परामर्श पाएका छन्।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सिजन रावलका अनुसार अस्पतालमा हर्निया, एपेन्डिक्स, हाइड्रोसिल र पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) लगायतका शल्यक्रिया नियमित रूपमा हुँदै आएका छन्।
सिजेरियन प्रसूति सेवा प्रभावकारी रूपमा सञ्चालन हुँदा जटिल गर्भवतीलाई बाहिर पठाउनुपर्ने अवस्था समेत घटेको उनले बताए।
गत आर्थिक वर्षमा २ हजार ४ सय ४० जनाले एक्स–रे सेवा, १ हजार ९ सय २ जनाले डिजिटल भिडियो एक्स–रे सेवा, ४ सय ४५ जनाले ईसीजी र ६१ जनाले इको सेवा लिएका छन्। अस्पताल फार्मेसीबाट ८ हजार १ सय ७६ जनाले औषधि सेवा प्राप्त गरेका छन्।
डोल्पाका आठवटै स्थानीय तहका नागरिकका लागि प्रमुख सरकारी रेफरल अस्पतालका रूपमा रहेको जिल्ला अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, सुरक्षित मातृत्व, शल्यक्रिया, प्रयोगशाला, अल्ट्रासोनोग्राफी, खोप तथा परिवार नियोजनलगायत सेवा सञ्चालनमा छन्।
तर विशेषज्ञ चिकित्सकको अभाव, सीमित शय्या, आधुनिक उपकरणको कमी तथा रक्तसञ्चार सेवा नहुनु अस्पतालका प्रमुख चुनौती हुन्।
विकट भूगोलका कारण स्वास्थ्य सामग्री ढुवानीमा हुने कठिनाइले पनि सेवा प्रवाह प्रभावित हुने गरेको अस्पताल प्रशासनको भनाइ छ।
अस्पताललाई २५ शय्यामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढिसकेको प्रशासनले जनाएको छ।
आवश्यक जनशक्ति र पूर्वाधार थपिएमा जिल्लामै अझ प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने डाक्ट रावलले बताए ।



तपाईको प्रतिक्रिया