रामचन्द्र न्याैपाने,
डोल्पा । बर्षौँदेखि निर्माणहुन नसकेको भेरी करिडोर अन्तर्गतकाे लासिक्याप–सिसौल सडकखण्ड निर्माणगर्ने सेनालाई दिने निर्णय गरिएको छ।
अत्यन्तै भिरालो र कडा चट्टानी भू-भागमा भएको उक्त करिब ३५ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरेकाे हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईंले चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकबाट भेरी करिडोरको महत्वपूर्ण खण्ड लासिक्याप–सिसौल सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय भएकाे बताए ।
उनका अनुसार मन्त्रिपरिषदबाट निर्णय गर्नुभन्दा अघि रक्षा मन्त्रालय र सैनिक मुख्यालय जंगि अड्डाकाे पनि राय लिइएको थियाे ।

सेनाले देशभर विभित्र प्रकारका विकास निर्माणका काम गरिरहेकाे र लासिक्याप–सिसौल ट्रयाक खुलाउने काम पनि सकिन्छ भन्ने राय पठाएपछि मन्त्रिपरिषद् ले निर्णय गरेकाे हाे ।
दुर्गम भूगोल र कठिन भौगोलिक अवस्थाका कारण सडकको मापदण्ड अनुसार ट्रयाक खोल्न कठिन भएपछि सेनालाई जिम्मा दिइएको उनकाे भनाइ छ ।
अब सरकारले छिट्टै बजेट व्यवस्थापन गर्ने सेनाले पनि निर्माणकाे प्रक्रिया अघि बडाउने बताए ।
डाेल्पाबाट नव निर्वाचित सांसद धनहादुर बुढाले करिब चार बर्ष देखि नै सेनालाई दिन पहल गरिरहेकाे र अहिले आएर मन्त्रिपरिषदबाट निर्णय भएपछि मन्त्री चाैलागाँईलाइ भेटर विशेष धन्यवाद दिएकाे बताए ।
मन्त्रिपरिषदकाे निर्णय सँगै अब सेनाले जिम्मा लिने निश्चित भइसकेकाले बजेट व्यवस्थापनमा जुट्ने सांसद बुढाले बताए ।
पुर्व मन्त्री समेत रहेका बुढालाई मन्त्री चाैलागाँईले पनि डाेल्पाबाट लगातार चार पटक निर्वाचित भएको भन्दै बधाई तथा शुभकामना समेत दिएका छन् ।
भेेरी करिडोरले पुर्णता पाएमा कर्णाली प्रदेशकाे हिमाली पर्यटनकाेे विकास तथा प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।
भेरी करिडोर बाँकेको जमुनाहबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गर्दै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानासम्म पुग्ने योजना रहेको रणनीतिक सडक आयोजना समेत हो।

नेपाल, भारत र चीनलाई जोड्ने सम्भावना बोकेको यो सडक आर्थिक, व्यापारिक तथा कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
भेरी करिडोर आयोजना कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्लासम्म करिब ३ सय १७ किलोमिटर सडक पर्छ।
यसमध्ये छिन्चुदेखि जाजरकोटसम्मको करिब १ सय ७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
त्यसैगरी जाजरकोटको खलंगा बजारदेखि रिम्ना हुँदै तल्नुबगरसम्मको करिब ५६ किलोमिटर सडक यस अघिनै कालाेपत्रे भइसकेको छ ।
२०७५ सालमै ट्र्याक खुलेको भेरी करिडोरको तल्नुबगर देखि दुनैसम्मकाे ६१ किलोमिटर खण्डकाे स्तरोन्नतिको चरणमा रहेको छ ।

तल्नु-त्रिवेणी र त्रिवेणी-दुनै गरेर डेड अर्व लागतका दुइवटा ठेक्का लागेर पनि काम सुरु भइसकेको भेरी करिडोर कार्यालयले जाजरकोटले जनाएको छ ।
दुनै देखि ल्यासीक्यापसम्मको २५ किलोमीटर सडक निर्माणकालागि तीन बर्ष अघिनै ठेक्का लागेपनि काम सम्पन्न हुन सकेको छैन् ।
सडक निर्माण सम्पन्न भएमा डोल्पाका प्रसिद्ध पर्यटकीय स्थलहरू फोक्सुण्डो ताल, जगदुल्ला ताल, सुलिगाड झरना, छार्का भोट बस्ती र त्रिपुरासुन्दरी भगवती मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।
मोरिम्ला देखि सिसौलसम्मको ४० किलोमीटर सडकको ट्रयाक यस अघिनै खुलिसकेको छ ।





नेपाल ईन्फम । २०८२ चैत्र ३ गते मङ्गलवार