निर्वाचन

डाेल्पाका उम्मेदवारहरुकाे चुनावी खर्च विवरण सार्वजनिक, कसको खर्च कति ?

रामचन्द्र न्याैपाने,
डाेल्पा । हिमाली जिल्ला डाेल्पाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लडेका उम्मेदवारहरु चुनावी खर्च विवरण बुझाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डाेल्पामा पेश गरेका हुन्।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा नवनिर्वाचित सांसद धनबहादुर बुढाले निर्वाचन अवधिभर १० लाख २ हजार रुपैयाँ खर्च भएको जनाएका छन्।
उनले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार जीप भाडामा ५ लाख, खाना तथा खाजामा १ लाख ९२ हजार, मतदातालाई प्रशिक्षणमा ९१ हजार, नमुना मतपत्र छपाइमा ९४ हजार, मनोयन दर्तामा १० हजार र मतदाता नामावली प्रिन्टमा ३ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार लंक बहादुर राेकायले सबैभन्दा बढी १८ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
उनले बुझाएको विवरणअनुसार सवारीसाधन (जीप भाडा) मा ६ लाख २० हजार, नमुना मतपत्र, पोस्टर तथा झण्डामा १ लाख ५० हजार, मतदाता नामावली फोटोकपीमा १० हजार, होटल, खाना, नास्ता तथा बासमा ४ लाख, पेट्रोल खर्चमा ५ लाख, मनोयन दर्तामा १० हजार, मतदाता नामावली प्रिन्टमा ३ हजार तथा होटल त्रिपुराकोटमा खाना, नास्ता र लजमा २ लाख ६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यस्तै स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले भने सबैभन्दा कम ३९ हजार रुपैयाँ खर्च भएको जनाएका छन्।
उनले बुझाएको विवरण अनुसार मनोयन दर्तामा १० हजार, पेट्रोलमा ४ हजार, पर्चा–पम्पलेट तथा घोषणापत्र छपाइमा १५ हजार र नास्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले निर्वाचन अवधिमा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
विवरण अनुसार जीप भाडामा १ लाख ५० हजार, पेट्रोलमा १ लाख ५० हजार, होटल त्रिपुरासुन्दरीमा खाना, नास्ता तथा लजमा १ लाख, नमुना मतपत्रमा ५ हजार, नामावली फोटोकपीमा ५ हजार, मतदाता नामावली खरिदमा ३ हजार र मनोयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिंह ऐडीले निर्वाचन अवधिभर २ लाख ७४ हजार ९५० रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
उनले बुझाएको विवरणअनुसार होटल खानामा १९ हजार ५००, कोठा भाडामा १९ हजार, खाजामा १७ हजार ९५०, नमुना मतपत्र छपाइमा ९० हजार, मतदाता नामावली फोटोकपीमा ६ हजार, मनोयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, सवारीसाधन (जीप भाडा)मा ७४ हजार र पेट्रोलमा ५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
नेपाली काङ्ग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले भने चुनावी खर्च विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालयमा बुझाइएका विवरणअनुसार उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार, यातायात, खानपान तथा प्रचार सामग्रीमा मुख्य रूपमा खर्च गरेकाे देखिएको छ।



तपाईको प्रतिक्रिया