​डोल्पाको विकासका लागि बजेट र पूर्वाधार सुनिश्चित गर्न सांसद बुढाको माग

रामचन्द्र न्याैपाने,
डाेल्पा । ​पूर्व सहरी विकास मन्त्री एवं डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले डोल्पा जिल्लाको समग्र विकास, पूर्वाधार निर्माण र बत्ती-सञ्चारको पहुँचका लागि सरकारसँग माग गरेका छन् ।
आज प्रतिनिधि सभाका सभामुखमार्फत सरकारकाे ध्यानाकर्षण गराउँदै सांसद बुढाले २०७७ सालदेखि आफूले सदनमा डोल्पाका वास्तविक समस्या उठाइरहेको भए पनि हालसम्म केही विषय मात्र सम्बोधन भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
​सभामुखलाई सम्बोधन गर्दै उनले भेरी कोरिडोर अन्तर्गत तल्लुदेखि दुनै खण्डमा १४ वटा साना-ठूला पक्की पुलको स्रोत सहमति भएकामा वर्तमान सरकारलाई धन्यवाद दिएका छन् ।
साथै, भेरी कोरिडोरकै लासीक्याप-सिसोल खण्डको कठिन चट्टानी भागमा ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने तत्कालीन सरकारको निर्णयको स्वागत गर्दै उनले उक्त आयोजना तीव्र गतिमा अघि बढाउन पर्याप्त बजेटको व्यवस्था गर्न माग समेत गरेका छन् ।
यसैगरि सांसद बुढाले डोल्पालाई अन्य जिल्ला र राष्ट्रिय सडक सञ्जालसँग जोड्न विभिन्न सडक खण्डको स्तरोन्नति र कालोपत्रेका लागि बजेट सुनिश्चित गर्न माग गरेका छन् ।
जसमा मुस्ताङ हुँदै डोल्पाको छार्का-कागकोट-ल्हासीक्याप खण्डको ट्रयाक खोल्ने कार्यमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
जिल्लाकाे ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका तथा मुड्केचुला र जगदुल्ला गाउँपालिका समेट्ने ‘रिंगरोड’ अवधारणा अनुसारको निर्माणगर्न बजेट व्यवस्थापन गर्न माग गरेका छन् ।
​यसैगरी मध्य पहाडी लाेकमार्गमा पर्ने पूर्वी रुकुम-डोल्पा सडक, पूर्वी रुकुमको मैकोट-शहरतारा हुँदै दुनै जोड्ने सडक, जुम्ला-डोल्पा सडक (मौरे-चौरीकोट-काईगाउँ-त्रिपुरासुन्दरी) को कालोपत्रे र दुनै-सुलिगार्ड हुँदै तिब्बत नाका जोड्ने सडक निर्माणका लागिसमेत बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको छ ।
डोल्पाका अधिकांश गाउँहरू अझै पनि डिजिटल अन्धकारमा रहेको उल्लेख गर्दै सांसद बुढाले मोबाइल र टावर भएर पनि नेटवर्क र इन्टरनेट नहुँदा विद्यार्थी र स्थानीय मारमा परेको बताएका छन् ।
जिल्लाकाे उनले रंग, दापु, बन्तडी, हुम, मुहु, पहाडा, ज्यु, सुँ, रह, परिला लगायतका क्षेत्रमा तत्काल फोरजी (4G) सहितको टेलिकम टावर स्थापना गर्न र शे-फोक्सुण्डो, डोल्पोबुद्ध, छार्कातङसोङ र काइके गाउँपालिकामा इन्टरनेट सेवा विस्तार गर्न माग गरेका छन् ।
​जलविद्युततर्फ भारबुङ ३२८ मेगावाट जलाशययुक्त जलविद्युत आयोजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरी फास्ट ट्रयाक मोडेलमा कार्यान्वयन गर्न उनको माग छ ।
साथै,आँखेखोला मिना हाइड्रो (७५० कि.वा.) को डिपिआर भइसकेकाले तत्काल काम अघि बढाउन र सदरमुकाम दुनैमा सञ्चालित जिर्ण बनिसकेको जैरीगार लघु जलविद्युत आयोजनाको मर्मतका लागि बजेट छुट्याउन उनले आग्रह गरेका छन् ।
डोल्पाको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागिसमेत विशेष मागहरू राखिएका छन् ।
माथिल्लो, मध्य र तल्लो डोल्पाका लागि छुट्टाछुट्टै  कम्तिमा ५ शैयाको अस्पताल स्थापना गर्नुपर्ने, जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरणसहित चिकित्सक आवास गृह तत्काल निर्माण गरिनुपर्ने सांसद बुढाको माग छ ।
​शिक्षा क्षेत्रतर्फ सदरमुकाममा रहेको डोल्पो क्याम्पसलाई आंगिक क्याम्पस बनाउन तथा त्रिपुराकोट, मद्दु, लक्ष्मी र थरगाउँ माध्यमिक विद्यालयलाई स्थायी माध्यमिक विद्यालयको मान्यता दिन माग गरिएको छ ।
खेलकुद विकासका लागि मुड्केचुला गाउँपालिकाको सर्मी गाउँमा क्रिकेट रंगशाला निर्माणका लागिसमेत बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ ।



तपाईको प्रतिक्रिया