रामचन्द्र न्याैपाने,
डाेल्पा । नेकपा एमाले डाेल्पाका उम्मेदवार लंक बहादुर राेकायले प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन् ।
त्रिपुरासुन्दरी नगरपालिकामा एक कार्यक्रम आयाेजना गर्दै डाेल्पा समृद्धिका आधार सहितकाे प्रतिज्ञा–पत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक प्रतिज्ञा–पत्रमा समान पहुँच, उत्तरदायित्व र सहभागितामूलक विकासलाई आधार मानेर पूर्वाधार, कृषि, पर्यटन, जलविद्युत र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी डोल्पाका सीमा नाकालाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने, स्थानीय तहहरूमा भूगोलअनुसार सामूहिक कृषि तथा पशुपालन फार्म स्थापना गर्ने तथा धार्मिक र पुरातात्विक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि स्थायी नीति तथा कानुन निर्माण गर्ने बाचा गरिएको छ ।
त्रिदेशीय सडक सञ्जाल सुदृढीकरण र विस्तार, उपत्यकालाई व्यवस्थित सहरका रूपमा विकास तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमार्फत जिल्लालाई पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने योजना समेत अघि सारिएको छ।
कृषि क्षेत्रअन्तर्गत स्याउ, ओखर, अंगुर, जडीबुटी लगायतका नगदे बालीको उत्पादन विस्तार गरी स्वरोजगार सिर्जना गर्ने, सौर्य ऊर्जामार्फत विद्युत पहुँच विस्तार गर्ने तथा सार्वजनिक जग्गामा सामूहिक व्यवसाय सञ्चालन गर्ने नीति ल्याइने उम्मेदवार राेकायले प्रतिबद्धता ब्यक्त गरे ।
सदरमुकामबासीले लामो समयदेखि भोग्दै आएको विद्युत समस्याको स्थायी समाधानका लागि विशेष योजना अघि सार्ने, दुनैस्थित जैरिगाड जलविद्युत आयोजनाको दिगो र प्रभावकारी बनाउने,सम्भाव्यता अध्ययन भएका जलविद्युत आयोजनालाई कार्यान्वयनतर्फ अघि बढाइने, जगदुल्ला जलविद्युत प्रभावित क्षेत्रका बासिन्दालाई थप सेवा सुविधा उपलब्ध गराउने तथा सञ्चार सेवाको पहुँच विस्तार गरिने प्रतिज्ञा–पत्रमा उल्लेख छ।
शिक्षा, स्वास्थ्य र पर्यटनलाई विशेष प्राथमिकतामा राख्दै पूर्वाधार विकासमार्फत डोल्पाको आर्थिक रूपान्तरण गर्ने बताइएको छ ।





नेपाल ईन्फम । २०८२ फाल्गुन ७ गते बिहिवार