रामचन्द्र न्यौपाने,
डोल्पा ९ साउन : नदिनाला र मुलको प्रमुख श्रोत हिमालमै पिउने पानीको अभावहुन थालेको छ ।
हिँउदमा बाढि पहिरो र बर्खामा मुहान सुकेर हिमाली क्षेत्रमै पिउनेपानीको अभावहुने गरेको हो ।
यतिबेला हिमाली जिल्ला डोल्पा सदरमुकाम दुनैमा पिउनेपानीको चरम समस्या भएको छ ।
बर्षायाम सुरु भएसँगै ठुलिभेरी नगरपालिका ३ मा पर्ने दुनैमा पिउनेपानीको समस्या भएको हो ।तर,यो समस्या मौसमी भने होइन् ।

प्रत्येक बर्ष दुनै बजारबासीले पिउने पानीको समस्या भोग्नु परेको छ । हिँउद र बर्खा दुबै समय बजारबासीलाइ पिउन पानीकै पिरलो हुने गर्दछ । प्रत्येक महिनामा कहिलेकाहिँ एक हप्तानै धारामा पानी नआउने गरेको दुनैबासीले गुनासो गरे ।
बर्खाको समयमा बाढी र पहिरोले कहिलेकाहीँ हप्ता दिनसम्म पनि धारामा पानी नआउने गरेको होटेल ब्यबसायि बिरमल कुमार भण्डारीले बताए ।
‘दुनैमा दिन प्रतिदिन सर्वसाधारणको चाप बडिरहेको छ,बर्षौ देखि कायमै रहेको पिउने पानीको समस्यामा सुधारहुन सकेको छैन्,बर्षौ देखि दुनैबासीले बाह्रैमास पिउने पानीको समस्या भोग्नु परेको छ’ भण्डारीले भने ।
‘बर्षेनी खानीपानी मर्मतका नाममा दुनै खानेपानी उपभोक्ता समितिमा लाखौँ रकम आउँछ,स्थानीय देखि संघिय जनप्रतिनिधिको नारा पनि दुनैमा पानीको समस्या समाधान गर्ने हुन्छ तर जितसँगै सबै बाचा बिलाएर जान्छन् ।’
‘तीन दिन अघिमात्र जिल्ला प्रशासन,खानेपानी कार्यालय र जिल्ला समन्वय समितिका प्रमुखलाइ समेत पिउने पानीको समस्याबारे ध्यानाकर्षण गराएका छौ,उहाँहरु पनि बर्षौ देखि यहि समस्या भोगि राख्नु भएको छ,दिगो बनाउने तर्फ ध्यान भने गएको छैन्’उनले थपे ।
दुनै पानी नभएपछि जुफालबाट जीपमा पानी मगाएर प्रयोग गर्न बाध्य भएको उनको गुनासो छ ।
धारामा पानी दिन बिराएर आउने र आएपनि पिउनै नमिल्ने धमिलो पानी आउन थालेपछि ब्यापारीले नेपालगञ्जबाट लाखौँ मुल्य बराबरको बोत्तलको पानी आयात गर्न थालेकाछन् ।
एक बर्ष यता दुनैमा पनि मिनिरल वाटरको माग बड्न थालेको ब्यापारीहरु आफै बताउँछन् ।
दुनैमा पिउनेपानीका चरम समस्या भएपछि सर्वसाधारण र कर्मचारीहरु बजारको पानी किनेर खान बाध्य भएकाछन् ।
धारामा पानी कहिले आउने र कहिले नआउने भएपछि पचास रुपैयासम्म मुल्य तिरेर मिनिरल वाटर किनेर बाध्य भएको संघिय सरकार माताहतको एक कार्यालयका प्रमुखले नाम नखुलाउने सर्तमा दुखेसो पोखे ।
‘धारामा पानी आउँदैन,एक दुई घण्टा आएपनि लेदो र चुनायुक्त पिउन नमिल्ने पानी आउँछ,बर्खा सुरु भएपछि कहिलेकाँही त्यहि पानी पनि आउँदैन,कतिन्जेल पचास रुपैया तीरेर बोत्तलको पानी किनेर खाने ?उनले प्रश्न गरे ।
धारामा धेरैजसो समय पानी नआउने र आएपनि धमिलो आउने भएकाले शरिर सरसफाइ गर्न पनि बजारमा किनिएको बोत्तलको पानी प्रयोग गर्ने गरिएको दुनैका कर्मचारीको गुनासो छ ।
यता जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायले दुनै खानेपानी उपभोक्ता समितिमा सधै करोडौँ बजेट चुहिने गरेपनि धारामा पानी भने नचुहिने बताए ।
‘बर्षेनी लाखौँ बजेट बिभिन्न शिर्षकमा समितिमा आउँछ,उक्त बजेटको उपलब्धि भने देखिदैन्,दुनैले सधैँ खानेपानीको समस्या भोग्नु परेको छ,म प्रमुखमात्र होइन् उपभोक्ता पनि हुँ,पिउनेपानीको समस्याले आजित भएको छु’रोकायले भने ।
‘जिल्लामा पिउने पानीलाइ नियमित गराउन जनशक्ति परिचालन गरिनुपर्छ,समितिका पदाधिकारीले अनुगमन गर्ने हो,आफै दौडिएर हुँदैन्,यस बिषयमा वडा सरकार पनि चनाखो हुनुपर्ने हो तर कुनै चासो छैन् ।’
पानी पिउन पाउनु जनताको आधारभुत आवश्यक्ता भएकाले धारामा नियमित पानी आउनु पर्ने उनको भनाइ छ ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले प्रत्येक बर्ष पानीको समस्या बिकराल बन्दै गएको बताए ।
‘पानीको समस्या बड्दै जान थालेपछि सदरमुकामबासीले स्वच्छ,सफा र नियमित पानी पिउन पाएका छैनन्,धाराछन् पानी आउँदैन्,आएपनि पिउन अयोग्य पानी आउँछ ’बुढाले भन्नुभयो ।
‘प्रत्येक बर्ष दुनै खानेपानी उपभोक्ता समितिमा लाखौँ बजेट आएको सुनिन्छ,अब त दुनैसबीले खानेपानीको समस्या भोग्नु नपर्ला भन्यो फेरि उहि पानीकै समस्या देखापर्छ ।’
‘बर्षौ देखि एउटै समिति छ,कहाँबाट कति बजेट आयो,काम कति भयो के भयो त्यसको सामाजिक परिक्षण छैन्,हामि उपभोक्ता हौँ,हामिले नियमित पानी पिउन पाउनुपर्छ ’उनले थपे ।
‘जिल्लामै खानेपानी कार्यालय छ,त्यहिँ खानेपानीको हाहाकार छ, दुनैबासीको पिउने पानीको बिषयमा कार्यालयले कुनैपनि चासो राखेको देखिदैन्,यसको जवाफ कार्यालयले जनतालाइ दिनुपर्छ ’अध्यक्ष बुढाले भने ।
दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबी किशोर गुरुङ्गले समिति र समितिका पदाधिकारीलाइ राजनितिक पुर्वाग्रहीको रुपमा हेरिएको बताए ।
‘तिप्ला खोलामा आएको बाढीले करिब एकसाता पानी रोकिएको साँचो हो,अहिले बाहिर हल्ला गरेजस्तै छैन्,पानी आइरहेको छ,अझै सुधारगर्ने तर्फ लागिरहेका छौ’उनले भने ।
‘म दुई कार्यकाल देखि अध्यक्ष छु,तीन चार बर्षको अवधिमा तीन चार करोड रकम समितिमा आयो होला,तर त्यसको दश प्रतिशत पनि काम गर्न पाएका छैनौ,कहिले फ्रिज जान्छ,धेरैजसो ठेक्का खुलाइन्छ,कहिले अवरोध हुन्छ ।’
‘यस बर्ष खानेपानी कार्यालयबाट बिस लाख आएको हो,उक्त बजेटबाट पाइपलान बिस्तार लगायतका काम भयो,तर ठेक्का खुलाइएको ५५ लाखबाट सन्तोषजनक काम भएनु,कार्यालयले कसरी काम गरायो कसरी भुक्तानि भयो त्यो कार्यालयलेनै जानोस’गुरुङ्गले भने ।
दुनैमा अहिले सालीखोला र पाल्चेखोला गरेर दुइवटा मुहान प्रयोगमा आइरहेको छ ।
दुनैमा खानेपानी नियमित नआउने र आएपनि फोहोर पानी आउन थालेपछि जिल्ला अस्पतालमा झाडापखालाका बिरामि बडेको डक्टर अखण्ड उपाध्यायले बताए ।
‘आजभोली दैनिक पाँच सात जना बिरामिहरु झाडापखालाका बिरामी आउने गरेकोछन्,अस्पतालमा आउने बिरामिकालागि पिउने पानीको समस्या रहेको छ,त्यतिमात्र नभई सरसफाइ गर्न पनि पानीको अभावहुने गरेको छ’उनले भने ।
ठुलिभेरी नगरपालिकामै सबैकालागि दिगो खानेपानी तथा सरसफाई आयोजना लागु भएको छ ।तर,नगरपालिका प्रमुख बजार दुनैमा यो कार्यक्रम लागुहुन सकेको छैन् ।
यो कार्यक्रमको प्रमुख उदेश्यनै नगरबासीलाई दिगो,स्वच्छ र नियमित पानीको आपुर्ति गर्नु हो ।
नगरपालिकाका जनप्रतिनिधिहरुले पहुँचको भरमा आ आफ्नो ठाउँमा आयोजना लागुगर्न खोज्दा दुनैमा दिन प्रतिदिन खानेपानीको समस्या बड्न थालेको दुनैका स्थानीयको गुनासो छ ।
दिगो खानेपानी तथा सरसफाई आयोजना लागु भएको दुइ बर्ष बित्नलाग्दा पनि दुनैमा भइरहेको पिउनेपानीको समस्याप्रति नगरपालिका,जनप्रतिनिधि र आयोजनाका कर्मचारी बेखबर रहेको उनिहरुको भनाइ छ ।





नेपाल ईन्फम । २०८१ साउन ९ गते बुधवार