हिमाली जिल्ला डोल्पा प्राकृतिक हिसावमा प्रचुर सम्भावना बोकेको जिल्ला हो ।फोक्सुण्डो ताल,त्रिपुरासुन्दरी मन्दिर,जगदुल्ला ताल शे–गुम्बा,कुख्यान फालक ताल,धो तराप,पङ्बोर ताल लगायतका दर्जनौ प्रशिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकिय गन्तव्य डोल्पामै पर्दछन् ।यस मध्ये एक प्रमुख पर्यटकिय गन्तव्य हो जगदुल्ला ताल ।यो ताल समुन्द्रि सतहबाट चार हजार सातसय मीटर उचाइमा पर्दछ ।जगदुल्ला गाउँपालिकाकाको नाम पनि यसै तालको नामबाट नामाकरण गरिएको छ ।
गाउँपालिको प्रमुख बजारको रुपमा रहेको काइगउँबाट यो तालकालागि यात्रा सुरु हुन्छ ।जगदुल्ला नदीको तिरैमा रहेको यो बजार यहाँको प्रमुख बजार पनि हो ।जंगलको तल पट्टी अवस्थित काइगउँका धेरैजसो घरहरु रंगीबिरंगी जस्ताले छाएकाछन् ।राष्ट्रिय महत्वको १ सय ६ मेघावाट क्षमताको निर्माणाधिन जगदुल्ला जलविद्युत आयोजना काइगउँ नजिकै बन्न लागेको छ ।भौगोलिक हिसाबमा चिटिक्क जगदुल्ला आर्थिक, सामाजिक तथा पर्यटकिय हिसावमा जिल्लाकै महत्वपुर्ण स्थानीय तह पनि हो ।त्यतिमात्र होइन आर्थिक सुशासन कायममा पनि कर्णालीकै अब्बल स्थानीय तहको घोषितहुँदै आएको छ ।
जगदुल्ला तालकालागि हाम्रो पहिलो दिनको यात्रा त्रिपुराकोट बजारबाट सुरु भयो ।सामान्य तयारीका साथ हामि मोटरसाइकलमा बिहानै हिडयौँ ।जगदुल्ला ताल पुग्ने हुटहुटीले एकबर्ष देखि पिरोलिरहेको थियो ।जब हामिले यात्रा सुरु गर्यौ उत्साह सँगै डर पनि थियो ।हिँडेको डेट घण्टामै लिकु,मुहुँ,हुम,बन्तडी हुँदै बलांग्रा लेकमा पुगियो।यात्राको साथी रेलको बाटो,नुनको भारी लगायतको चर्चित गीतका कलाकार लक्ष्मण देबकोटा हुनुहुन्थ्यो ।
बलांग्रा पुगेर कफि पिउँदै एक छिन आराम गर्यौ ।बेशीबाट लेक उक्लेका हामि अलि चिसो लागेको थियो ।मध्ये डोल्पाको अग्लो स्थानमा पर्ने बलांग्राबाट सुन्दर गाउँबस्ती,हिँउले सेताम्य हिमाल अनि हरियाँ फाटमा फुलेका रंगीबिरंगी फुलहरुको समेत अवलोकन गर्न सकिन्छ ।त्यहाँबाट पनि अगाडी बड्यौ ।जदुल्लाको टेलिफोन टावरले बाटोभरीनै राम्रो काम गर्ने रहेछ ।जसले गर्दा घरमा सम्पर्क गर्न सजिलो भयो ।
तुलधारा,थुमलाग्ना हुँदै एघार बजे काइगउँ पुगियो ।बलांग्रा देखि काइगउँसम्मको मोटरबाटो कच्ची भएपनि समग्रमा राम्रोनै थियो ।कुनैबेला त्रिपुराकोटबाटमात्र दुई दिनमा पुग्नुपर्ने काइगउँको यात्रा अहिले मोटरसाइकलमा दुई घण्टामात्र लाग्छ । हामिले प्रकृतिसँग रमाउँदै आँखा र क्यामेरामा फोटो,भिडियो कैद गर्दै चारघण्टामा काइगउँ पुग्यौ ।छिटो हाँक्न सक्ने त दुई घण्टामै त्रिपुराकोट देखि काइगउँ पुग्न सक्ने रहेछन ।पहिलो पटक जगदुल्ला ताल जाँदै थियो ।एक जना साथी सँगै लैजानु पर्छनै भन्ने थियो ।त्यहिँ अनुसार गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायलाई एकजना साथी बनाइदिन अनुरोध पनि गरेका थियौँ ।काइगउँ पुगिसेकपछि साइकल यात्री भाष्सकर बस्नेत भाइलाई फोन लगायौँ ।भाइले जगदुल्ला जल विद्युत आयोजनाको कार्यालयमा आउन भने ।हामि कार्यालयमा पुगेपछि पव्लिक रिलेशन अफिसर तथा वातावरण विज्ञ मनिस न्यौपानेसँग भेट भयो ।उहाँ मेरो नजिकको नातेदार हो ।गफ गर्दै खाना सँगै खाइयो ।
काइगउँमा खान बस्नकालागि राम्रा होटेलहरु पनि रहेछन ।जगदुल्ला ताल यस अघिनै धेरै पटक छिचोलिसकेका भाष्सकरलाईनै सँगै लैजाने घरै देखिको योजना थियो ।भाइ आयोजनामै जागिरे भएकाले व्ययस्तताले जान मानेनन ।वास्तबमा भाष्करलेनै सामाजिक सञ्जालमा पोष्टयाएका तस्बिरलेनै जगदुल्ला ताल पुग्ने जोश पलाएको थियो गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायसँग पनि समन्वय भइरहेको थियो ।
एकजना जनप्रतिनिधिलाइ सँगै लैजाने कुरा भएको थियो ।तर,हामि ढिलामात्र काइगाउँ पुगेकाले वडाध्यक्षहरु काममा निस्किसक्नु भएको रहेछ ।हामिलाई न बाटो नै थाहा थियो न त कस्तो तयारी गर्नुपर्छ भन्ने नै ।खाली जगदुल्ला पुग्ने बलियो आत्मविश्वास थियो ।जगदुल्ला आउनु भन्दा केही दिन अघि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका रेन्जर रामु केसी सरले जगदुल्ला ताल जाँदा समस्या परे तोइजुम पोष्टमा भएको हाम्रो टोलिले समन्वय गर्छ हामि फोन गर्दिन्छौ भन्नु भएको थियो ।सोही आशाले काइगाउँबाटै पोष्टमा फोन हानियो ।आफ्नो परिचय खुलाउँदै मैले भने पहिलो पटक जगदुल्ला ताल जाँदैछौ सँगै जान पर्यो भनेर ।अनि उहाँले आउनुस सल्लाह गरौँला भन्नुभयो ।एक किसिमा आशा पनि पलायो ।
एकजना वडा का अध्यक्ष ताल नजिकै रहेको र उहाँले पनि गाइड गर्ने खबर पायौँ हामि थप खुशी भयौँ ।यति गर्दागर्दै बाह्र बजिसेकेको थियो ।त्यहाँबाट बिदा मागेर मोटरसाइकलमा हुरिकोट हिँड्यौ ।सकड त्यहाँसम्ममात्र थियो ।अब भने पैदल हिँड्नु पथ्र्यो ।गाउँमा मोटरसाइकल राखेर दिउसोको बाह्र बजे यात्रा सुरु भयो ।हहिँड्नै लाग्दै बेजोडले पानी पर्न सुरु भयो ।हामिलाई एकै दिनमा जगदुल्ला पुगेर भोलि पल्ट ताल हेरेर काइगउँ फर्किर्न सकिने बताइएको थियो ।गलत जानकारी पाइएको रहेछ ।आधा घण्टामा तोइजुम पोष्ट पुग्न सकिन्छ भनेको त दुई घण्टा लाग्यो तब सोच्यौ जगदुल्ला ताल धेरै टाढा रहेछ ।तर हिक्मत हारेनौ ।निरन्तर पानी परिरहेको थियो ।लगाएका कपडा निर्थुक्क भिजेका थिए ।प्रकृतिसँग रमाउँदै हामि तोइजुम पुगियो ।हाम्रो अवस्था देखेर निकुञ्का सरले आगो बाल्नु भयो ।चिया दिनुभयो ।केही राहतको अनुभुति भयो ।
भिजेका कपडा फेरौँ भन्दा झोलाका कपडा पनि भिजेसकेछन।चिसै कपडा फेरेर यात्रा सुरु भयो ।अब भने हामिसँग पोष्टका एकजान सिनियर सर पनि हुनुभयो ।हामि ढुक्क भयौँ ।सर धेरै पटक ताल पुगिसक्नु भएको रहेछ ।बाटोको पिर बाहेक अब कुनै पीर थिएन ।पानी भने रोकिएको थिएन ।दुई बजे यात्रा सुरु भयो ।हाम्रो त्यो दिनको योजना माथिल्लो डंसिले पुग्ने थियो ।त्यहि अनुसार यात्राको गति पनि बडाइको थियो ।घना जंगलको बाटो अनि तल पट्टी जगदुल्ला नदि सुसाइरहेको थियो।सायद लाग्थ्यो यो नदिले जगदुल्लाको सुन्दरताको बयान गरिरहेको छ ।यहाँ पुग्न कस्सिने हामिलाई सुसावटबाटै स्वागत गरिरहेको अनुभुति भयो ।आसपासको सुन्दरताले एक किसिमको जोश भरेको थियो ।तोइजुमबाट हिँडेको दुई घण्टा पछि साथी लक्ष्मणलाई भोक लागेछ ।
आराम गरेर केही खाउँ भन्नुभयो ।खोला किनारमा आराम गर्दै बिस्कुट खाइयो ।बिस्कुट त्यतिमात्र थियो । केही प्याकेट वाइवाइ पनि थियो ।केही घण्टा हिँड्दै खाने गरेपछि त्यो पनि सकियो ।त्यसपछि हामि भिज्दै भिज्दै मुश्किलले तल्लो डंसिले पुग्यौ ।पाँच बजिसकेको थियो।बास बसौँ भन्दा त्यहाँ कुनै भेडी गोठहरु थिएनन् एकै पटक माथिल्लो डंसिले पुगेपछिमात्र गोठ भेटिने रहेछन ।हामि जसरी भएपनि माथिनै पुग्नु पर्ने भयो ।यहाँसम्म बाटो तेस्रै थियो ।खासै थकाइको अनुभुति भएको थिएन् ।तर बास बस्ने समय भइसकेको थियो ।भोक बेसगरी लागेको थियो ।चिसो पनि उत्तिकै थियो ।एउटा पाल थियो ।किनेर खोने केही रहेनछ ।झोला छामछुम गर्दा एउटा वाइवाइ भेटियो ।त्यहि उमालेर तीन जनाले सुप खायौँ ।अनि हाम्रो अर्को कठिन यात्रा सुरु भयो ।माथिल्लो डंसिले पुग्न घण्टौ उकालो छिचोल्नु पर्ने रहेछ ।म पुरै थाकिसकेको थियो ।प्रत्येक पाइला कठिन बन्दै थियो ।लगाएका कपडाहरु पनि भारी लाग्न थालेको थियो ।यहाँसम्म सँगसँगै आएको म दुई जना साथीको पछिपछि लत्रिएझैँ भए ।लक्ष्मण र सिनियर सरको हिँडाइले बाहिरी रुपमा थकान देखाउन्न थियो ।दिनभरीको चिसो,भोक र उकालो बाटोले धेरै गारो बनाएको थियो ।साझँ परिसकेकाले थियो ।मलाई सास फुलेर हैरान भएको थियो ।टाउको बेसगरि दुखेको थियो ।
पवित्र बृक्ष भोजपत्रका रुखहरुमा ठोकिएको मन्द हावासँग आनन्द पनि दिइरहेका थिए ।जब रातीहुँदै गयो तब पाइला फाल्नै झन कठिन भयो ।मन मनै लाग्यो सपनाको जगदुल्ला ताल बहुत टाढा रहेछ ।नआएको भए पनि के सकिन्थ्यो होला र भन्ने पनि लाग्यो ।पिठ्युमा भएको दश किलोको झोला क्विन्टल झै लाग्न थाल्यो ।मेरो अवस्था देखेर दया लागेछ ।मेरो झोला पनि लक्ष्मणलेनै थप्नुभयो ।मुश्किलले आठ बजे माथिल्लो डंसिले पुगियो ।धेरै भेडिगोठहरु रहेछन् ।बाहिर पट्टी सबैले बत्ती बालेका थिए ।पशु बस्तु हेराला भोटेकुकुरहरु एकमेसले भुकिरहेका थिए ।याक,चौँरी र झोपाका घन्टीहरुले कानलाइ आनन्द दिइरहेका थिए ।वडाध्यक्ष शेर बहादुर लामाको गाइ राख्ने गोठ त्यहि रहेछ ।सिनियर सरले सिधै हामिलाई त्यहि लिनुभयो ।उहाँलाई पत्रकारको टिम आउँदैछन भन्ने खबर भइसकेको रहेछ ।हामि सबैलाई चिसो लागेको थियो ।विशेष गरेर म चिसोले थरथर कापेको थिए ।पुग्ने बित्तिकै आगो ताप्न सुरु भयो ।चिया कफि पनि खाइयो ।
शरिर तातेझै भयो ।अझ सिरक मागेर मज्जाले एकघण्टा सुतियो ।केही विशेष भएझै भयो ।उठेर खाना खाइयो ।खानामा भात,च्याँग्राको मासु र दाल थिो मज्जाले दाबियो ।मैले वडाध्यक्ष,लक्ष्मणलाई र सिनियर सरलाई भने भोली म जगदुल्ला ताल जान सक्दिन ।तपाइहरु पुगेर आउनुहोला ।म पालमै बस्छु ।अहिले आराम गरौँ भोली सल्लाह गरौँला भन्ने राय आयो ।करिव ४५ सय उचाइमा वडाध्यक्ष ज्यु ले होटेलको राम्रो सुविधा दिनु भएको रहेछ ।उहाँले सबै घोडा,खच्चड र याकहरुबाट खानेकुरा ओसार्नुहुने रहेछ ।दिनभरीको निन्द्राले च्यापिसकेको थियो ।भुसुक्कै निदाइए छ ।एक पटक बिहान भइसके छ ।हिमाल नजिकै थिए ।सेता दन्तेलहर झै देखिएका सुन्तरमा हिमालमा विहानीको सुर्यको किरणले झन आकर्षक देखिन्थे ।बिस्तारै बिस्तारै हामि बसेको ठाउँमै घाम आइपुग्यो ।कलकल समिपमै जगदुल्ला खोला बगिरहेको थियो ।खोला आसपासमा उम्रिएका हरिया बुकी लगायतका घाँसले खोलाई झन मनमोहक बनाइ दिएको थियो ।हरिया फाँटहरु र सेताम्य हिमालले मेरो मन चंगा भयो ।विशाल फाँतमा घोडा,याक,चौरी र भेडाहरु लहर मिलाएरै चरिरहेका थिए ।हामि पनि ति दृष्यहरु कैद लाग्यौँ ।
माथिल्लो डंसिलेको सुन्दरतालेनै मेरो अघिल्लो दिनको सबै थकान एकाएका हराइदियो ।लाग्यो कसैले म माथि जादु गरिरहेको छ ।त्यो हिँडाइ,त्यो भोग,त्यो चिसो सबै बिर्सियो।लाग्यो प्रकृतिमा यति धेरै शक्ति हुँदोरहेछ ।अघिल्लो दिन साझ म ताल नजाने कसम जस्तै खाएको म छिटो गइहालौ भनेर अत्याउन थाले ।नौ बजे हामी तीन र वडाध्यक्ष सहित चार जना भएर हिँड्यौ ।साथमा चाउचाउ किनेर लियौँ ।डंसिलेबाट जब अघि बड्यौ तब हाम्रा क्यामेराहरुले प्रत्येक पलको कैद गर्न थाले ।हाम्रो मुखबाट वाह कति राम्रो ठाउँ भन्नेमात्र निस्किन थाले ।कन्चन खोला,हरियाँ फाँट,हिउँ फुलेका हिमाल नजिकैबाट नियाल्दा लाग्यो असली स्वर्ग यहि हो ।मृत्यु पछि भेटिने स्वर्ग कल्पनामात्र हो ।प्रकृतिसँग पौँठे जोडि खेल्दै करिब तीन घण्टा हिँडेपछि हामि राक्षस तालको वारी पट्टी पुग्याँै ।यसलाई प्रेम ताल पनि भनिँदो रहेछ ।ठयाक्कै पानको पातको आकार जस्तो ।हामिलाई थकाइ मेटाउन बसेनौ बरु ।ताललाई पछाडी राखेर फोटो र भिडियो बनाउन सुरु भयो ।ताल अत्यन्तै आकर्षक देखिन्थ्यो ।
वरी पोरी हिमोड बिच्चमा ताल ।साँच्चिकै शृष्टिको एक सुन्दर रचना थियो ।यो ताललाई राक्षस ताल पनि भन्ने रहेछन् ।यो तालबाट अघि बडिसकेपछि पछाडी फर्किनुहुन्न भन्ने पनि स्थानीयमा विश्वास रहेछ ।आधा घण्टा बसेपछि हामि अघि बड्यौ ।करिब दुई घण्टाको हिँडाइ पछि सपनाको गन्तव्य जगदुल्ला ताल पुगियो ।हाम्रो थकान एकाएक हरायो ।हामि खुशीले बिनासित्ति चिच्याउन र कराउँन लाग्यौँ ।गोलाकार आकारको उक्त ताल कचौरमा दुध भरिएझै देखिन्थ्यो ।त्यहाँ पुगेपछि मलाइ लाग्यो हाम्रै डोल्पा यति सुन्तर गन्तव्यछन भने अन्त किन घुम्ने ।म पनि सबै डोल्पालीलाई के भन्न चाहान्छु भने पहिला डोल्पा घुमेर सकाउ अनि अरु ठाउँका गन्तव्य घुमौला । जगदुल्ला ताल धार्मिक महत्वका हिसाबमा पनि अत्यन्तै महत्वपुर्ण छ ।प्रत्येक बर्षको साउन पुर्णिमा जिल्ला भित्र र बाहिरबाट हजारौँको संख्यामा तिर्थालुहरु जजाने गर्दछन् ।तालमा स्नान गरि दर्शन गर्नाले सम्पुर्ण मनोकामना पुराहुने र पाप पखालि जनविश्वास रहेको छ ।त्यतिमात्र नभइ प्राचि तिब्बतीय ग्रन्थमा नौ लाख देवी देवताको पवित्र धार्मिक स्थल भएको कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।
तालको पानी निकासमा राखिएका ध्वजा पतकाले तालको रौनक थप बडाएका पाइन्थ्यो ।हामि पनि तालको पानीले पञ्चस्नान गरेर एक छिन पुजा गर्यौ ।अनि दृष्य कैद गर्न थाल्यौ ।वरिपोरो सेताम्य हिमाल थिए ।बिचको खाल्डोमा ताल थियो ।फोक्सुण्डो ताल जस्तै यो तालले पनि रगं परिवर्तन गर्ने रहेछ ।एकछिन एउटा निलो रंगको ताल बादल छोप्ने बित्तिकै फिक्का सेता रंगमा बदलियो ।तालको दृष्य कैद गर्दागर्दै एकिछिनमा डेड घण्टा बित्यो ।असिना पानी पर्न थालिसकेकाले वडाध्यक्षले छिटो फर्किनु पर्ने बताउनुभयो ।मलाइ लागिरहेको थियो सधैँ तालकै आसपासमा बसौँ ।
एक मेसले ताल नियालीरहु त्यो सम्भव थिएन ।प्राकृतिक सुन्तदरको रसपान गर्न पुगेका हामि धार्मिक कार्य समेत गर्ने मौका पाइयो ।मन अमिलो बनाउँदै हामि तालबाट हाम्रो बास तर्फ लाग्यौँ ।भोलि पल्ट बिहानै काइगउँकालागि हिँडयौ ।करिब तीन घण्टमा तोइजुम पोष्ट पुग्यौ ।आर्मिको क्याम्पमा खाना खाएर अघि बड्यौ ।हुरिकोट पुगेर बाइकमा करिब तीन घण्टामा त्रिपुराकोट पुग्यौँ ।तीन दिनको यात्रामा पुरै जगदुल्ला घुम्न सकियो ।जगदुल्ला गाउँपालिका देशकै नमुना गाउँपालिका भित्रमा पर्दछ ।यहाँका प्रत्येक वडामा सडक जोडिएको छ ।शिक्षा,स्वास्थ्य, खानेपानी र सञ्चारको राम्रो सुविधा पनि छ ।लगातार दोस्रो कार्यकालसम्म नेतृत्व गरेका युवा नेता नारिसिँह रोकाय र उपाध्यक्ष अमृता लामा जगदुल्लाको विकासमा सधै चिन्तितहुने गर्दछन् ।
जिल्लामै पहिलो पटक यस गाउँपालिकाले आफ्नै प्रशासकिय भवनमो सेवा पनि सुरु गरेको थियो ।जगदुल्ला ताल साच्चिकै एक सुन्दर पर्यटकिय गन्तव्य हो ।असार साउनमा यहाँको यात्रा अझ रोमाञ्चकहुने बताइन्छ ।यसका आसपासमा थप दुइवटा ताल पनि रहेकाछन् ।यस तालको प्रचार प्रचारमा र विकासकालागि तीनै तहको सरकार लाग्नु पर्ने देखिन्छ ।प्रचार प्रचारलाई भरपर्दो बनाउन सक्ने हो भने मात्र पनि जगदुल्ला ताल हेर्नकालागि हजारौँ पर्यटकहरु ओइरिने देखिन्छ ।
रामचन्द्र न्याैपाने/पत्रकार





नेपाल ईन्फम । २०८१ साउन ६ गते आइतवार