उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाका छ बर्ष पछि खुल्दै,१८ सय भन्दा धेरै सिमापास जारी

रामचन्द्र न्यौपाने,
डोल्पा ५ साउन : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका छ बर्ष पछि खुल्ने भएको छ ।
डोल्पा र चिनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारी पछि पहिलो पटक खुल्न लागेको हो ।
नाका यहि महिनाको १७ गते खुल्ने गरि धमाधम सिमापास जारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाटमात्रै हालसम्म १ हजार ८ सय भन्दा धेरै सिमापास जारी भइसकेको प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जानकारी दिए ।
नाका खुल्न करिब दुइ हप्तामात्र बाँकी रहेपनि प्रत्येक दिनजस्तो पास लिन सर्वसाधारणहरु आइरहेको प्रजिअ दाहालले बताए ।
उपल्लो डोल्पाबासीको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको उक्त नाका लामोसमय पछि खुल्न लागेकाले यस अवधिमा झै झगडा चोरी डकैती लगायतका कुनै पनि प्रकारका अप्रिय घटना नघटुन भनेर सिमा क्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर चेकजाँचमा कडाइ गरिने प्रजिअ दाहालले बताए ।
सुरक्षा ब्यबस्थालाइ कडाइ गर्न थप सुरक्षाकर्मी पठाइने बताइएको छ ।
यस अवधिमा सयौँको संख्यामा मान्छेहरु चिनिया सिमा क्षेत्रमा प्रवेश गर्ने भएकाले अवैध तथा प्रतिबन्धित बस्तु छिर्न सक्ने भएकाले डिभिजन वन कार्यालय डोल्पा र सुरक्षाकर्मीले प्रत्येक व्यक्तिलाइ चेकजाँच गर्ने प्रजिअ दाहालको भनाइ छ ।
प्रन्ध दिनकालागिमात्र खुल्ने चिनियाँ नाकाबाट उपल्लो डोल्पाबासीले चामल,नुन,तेल,चिया,लत्ताकपडा,घिउ,चिया,पेय पदार्थ लगायतका खाद्यबस्तुको किनमेल गर्ने गर्दछन भने चिनिया मोटरसाइकल लगायतका मेसिनरी सामान समेत यसै चिनियाँ नाकाबाट खरिद गर्दै आएका छन् ।
यसरी खरिद गरिएको दैनिक सामाग्रीहरु घोडा,खच्चड,याक,चौरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।
उपल्लो डोल्पाका डोल्पोबुद्ध,शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाका नागरिकलाइ सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुको साथै महंगो पनि पर्ने गर्दछ ।
डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिन एक बिहानमै चिँनिया नाका पुग्न सकिन्छ ।मोटरसाइकलमा सात देखि आठ घण्टामै नाका पुग्ने सकिने सर्वसाधारण बताउँछन् ।
यस बर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउण्टी नाकामा ब्यापारिक मेलानै लाग्ने भएकाले सामानहरु सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका सर्वसाधारण बताउँछन् ।
नेपालमा सात लाखसम्म पर्ने मोटर साइकल दुई तिन लाखमै आउने भएपछि उपल्लो डोल्पाका स्थानीयले चिनिँया मोटरसाइकल खरिद गर्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय युवा पेमाछेवाङ् गुरुङ्गले बताए ।
नाका खुल्ने मिति समेत तोकिसकिएकाले उपल्लो डोल्पामा मानविय चहलपहल समेत बडेको उनको भनाइ छ ।
लामोसमय पछि खुलेको नाकामा ब्यापारिक मेला हेर्न र किनमेल गर्न पाइने भएपछि सर्वसाधारणहरु खुशीहुनुका साथै जिल्लाका विभिन्न ठाउँबाट मान्छेहरु भित्रिएको गुरुङ्गले बताए ।
यस बर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने बताइएको छ ।

 



तपाईको प्रतिक्रिया