रामचन्द्र न्यौपाने
डोल्पा,हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिँउ चितुवाको सङ्ख्या एक सय बीस पुगेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्र गरेर हिँउ चितुवाको सङ्ख्या एकसय बीस पुगेको हो । निकुञ्जको संरक्षण क्षेत्र बाहिर वन क्षेत्रमा पहिलो पटक अत्याधुनिक प्रविधि क्यामेरा ट्रयाप विधिबाट हिँउ चितुवाको गणना गर्दा डोल्पामामात्रै नेपालमै सबैभन्दा धेरै हिँउ चितुवाको सङ्ख्या एकिन गरिएको तथ्याङ्क सार्वजानिक गरिएको हो । पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमामात्रै तीसवटा हिँउ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुन बहादुर रावतले शुक्रबार सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए । सर्वेक्षण अनुसार निकुञ्ज क्षेत्र बाहिर पर्ने डोल्पोबुद्ध,काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रति एक सय वर्ग किलोमीटर क्षेत्रफलमा हिँउ चितुवाको घनत्व १.५ रहेको छ । डिभिजन वन अधिकृत रावतका अनुसार तीन वटा गाउँपालिकामा रहेको वन क्षेत्रमा पर्ने दुई हजार वर्ग किलोमीटर क्षेत्रफलमा अध्ययन गरिएको थियो । डिभिजन वन कार्यालयको नेतृत्वमा कर्मचारी,बिद्याथी र विश्व वन्यजन्तु कोषका अनुसन्धानकर्ताहरु सहित भएर हिँउ चितुवाको सङ्ख्या अध्ययन गरिएको बताइएको छ । जसकालागि वन क्षेत्रमा पर्ने ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो । विश्वमा दुर्लभ बन्यजन्तु हिँउ चितुवा एशियाका १२ वटा राष्ट्रमामात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । चार बर्ष अघि मा क्यामेरा ट्रयाप विधिबाट हिँउ चितुवाको सर्वेक्षण गर्दा शे–फोक्सुण्डो निकुञ्जको संरक्षित क्षेत्रमामात्रै नब्बे वटा फेला परेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । प्राप्त तथ्याङ्क अनुसार निकुञ्जको संरक्षण क्षेत्रमा प्रति एक सय बर्ग किलोमीटर क्षेत्रफलमा हिँउ चितुवाको घनत्व २.२ रहेको उनले बताए । ‘निकुञ्ज र वन क्षेत्र गरेर कुल सङ्ख्या एक सय बीस पुगेकाले यो संरक्षण गर्ने निकाय र संरक्षणकर्मीकालागि खुशीको कुरा हो,हिँउ चितुवाकालागि आवश्यक आहार प्रजाती नावरको सङ्ख्या वृद्धिहुनाका कारण पनि सङ्ख्या बडेको पाइएको छ’ श्रेष्ठले भने । हिँउ चितुवाको सङ्ख्या बृद्धि भएसँगै मावन वन्यजन्तु द्धन्द घटाउने उपाय अपनाउनकालागि सम्बन्धित निकायले जनचेतनामुलक लगायत विभिन्न राहतका कार्यक्रमहरु प्रभावकारी ढंगबाट लागु गर्नुपर्ने उनको भनाइ छ । हिँउ चितुवाको सङ्ख्या बृद्धिहुनुले पर्यापर्यटन र आयआर्जनमा समेत टेवा पुग्ने बताइएको छ । जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायको अध्यक्षतामा वन तथा भु संरक्षण विभाग र विश्व वन्यजन्तु कोषका प्रतिनिधि,गाउँपालिकाका अध्यक्ष,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रतिनिधि,संञ्चारकर्मीहरुको भौतिक तथा भर्चुवल उपस्थितिमा हिँउ चितुवाको तथ्याङ्क सार्वजानिक गरिएको थियो । हिँउ चितुवा गणनाकालागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट गरिएको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको भएको सर्वेक्षणमा ४८ लाख खर्च भएको विश्व वन्य जन्तु कोषका प्रतिनिधि चन्द्रजंग हमालले बताए । दुवै निकायले गरेको सर्वेक्षणमा प्राविधिक तथा आर्थिक सहयोग विश्व वन्यजन्तु कोषले गरेको उनको भनाइ छ ।





नेपाल ईन्फम । २०८१ बैशाख ८ गते शनिवार