निर्वाचन

उपल्लो डाेल्पामा निर्वाचन सामाग्री र कर्मचारी पठाउन दुई हेलिकप्टर प्रयाेग गरिने

रामचन्द्र न्याैपाने,
डाेल्पा । हिमाली जिल्ला डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने उपल्लो डाेल्पामा निर्वाचन सामाग्री,सुरक्षाकर्मी र कर्मचारी पठाउन दुई वटा हेेलिकप्टर प्रयोग गरिने भएको छ ।
उपल्लो डाेल्पामा रहेका २३ मतदान केन्द्रहरुमा मतपत्र,मतपेटिका लगायतका निर्वाचन सामाग्री,सुरक्षाकर्मी र कर्मचारी पठाउन दुई वटा हेलिकप्टर प्रयोग गरिने भएको हाे ।
उपल्लो डाेल्पामा गर्नुपर्ने निर्वाचन तयारीलाई छिटाे छरिताे बनाउन एकैपटक दुई वटा हेलिकप्टर प्रयाेग गरिने प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।
एउटा सेनाकाे हेलिकप्टर र अर्काे श्री एयरकाे हेलिकप्टर दुनैमा तयारी अवस्थामा राखिएकाले आइतबार बिहानै देखि उपल्लो डाेल्पा उडान सुरुहुने प्रजिअ हमालकाे भनाइ छ ।
हावा बडेपछि शनिवार डाेल्पाेबुद्व गाउँपालिकामा धाे मा एउटामात्र उडान गरिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
उपल्लो डाेल्पामामात्रै २३ वटा फ्लाइट गर्ने कार्यतालिका रहेकाेमा एउटा उडान आज गरिसकिएकाले बाँकी २२ वटा उडान आइतबार बिहानै देखि सुरु गर्ने सेनाले जनाएको छ ।
डाेल्पामा स्थायी र अस्थायी गरेर कुल ७० वटा मतदान केन्द्र रहेका छन् भने तीन सय ८३ जना कर्मचारी खटाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् ।
जसमा महिला १२ हजार १ सय ८७ र पुरुष ११ हजार ९ सय २८ रहेका छन्।
आसन्न फागुन २१ को निर्वाचनकालागि छ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
डाेल्पामा नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढा,नेकपा एमालेबाट लंक बहादुर रोकाय,नेपाली काँङ्ग्रेबाट कर्ण बहादुर बुढा,राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिँह ऐडी,स्वतन्त्रबाट ओमेन्द्र बहादुर केसी चुनावमा होमिएका हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले एमालेलाई सघाउने गरि तालमेल गरिसकेका छन् । त्यसैगरी उज्याले नेपाल पार्टीका उम्मेदवार दिलबहादुर बिष्ट र मितेरी नेपाल पार्टीका उम्मेदवार जुनु भण्डारीले यस अघि नै काङ्ग्रेस प्रवेश गरिसकेका छन् ।

 



तपाईको प्रतिक्रिया