उपल्लो डोल्पामा नेकपा र एमाले कार्यकर्ताबीच विवाद,केही घाइते

रामचन्द्र न्याैपाने,
डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएको छ।
सोमबार दिउँसो २ बजे तिर नेकपा एमालेका प्रचार-प्रसार टोलीले स्थानीय नेतासँग चुनावी वार्ता भइरहेकै बेला नेकपाका नेता–कार्यकर्ता जम्मा भै ढुङ्गामुढा गरेपछि विवाद उत्पन्न भएको प्रलोपाका उम्मेदवार विकास बुढाले जानकारी दिए ।
उनका अनुसार ढुङ्गामुढा प्रहारबाट भाग्ने क्रममा एमालेका केही कार्यकर्ता घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुक बहादुर खड्काले दुवै पार्टीका कार्यकर्ताहरु प्रचार-प्रसारको क्रममा बाटोमा भेट हुँदा विवाद उत्पन्न भएको बताए । उनले घटनाको विषयमा बुझ्नको लागि प्रहरीटोली खटाइएको समेत जानकारी दिए ।
उता साल्दाङ स्थित सुरक्षा निकायले भने विवादपछि केही समय तनावको अवस्था सिर्जना भए पनि हाल स्थिति सामान्य रहेको जनाएको छ।
सुरक्षाकर्मीका अनुसार झडपपछि एमालेका नेता तथा कार्यकर्ता सोही पालिकाको राप गाउँ हुँदै डोल्पो बुद्ध गाउँपालिकाको धो उपत्यकातर्फ फर्किएका छन् ।
माथिल्लो डोल्पामा घटेको घटनाको विषयलाई लिएर तल्लो डोल्पाका विभिन्न क्षेत्रमा नेकपाको टोलीलाई प्रचार-प्रसारमा अवरोध गर्ने नेकपा एमालेका एक नेताले बताए ।



तपाईको प्रतिक्रिया