रामचन्द्र न्याैपाने,
डाेल्पा । हिमाली जिल्ला डाेल्पाका ७० वटै मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी पुगेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कायम गरिएका जिल्लाका ६८ स्थायी र २ अस्थायी गरी ७० वटै मतदान केन्द्रमा निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पुगिसकेकाे प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।
भाैगाेलिक विकटताका कारण उपल्लो डाेल्पाका सम्पूर्ण मतदान केन्द्रमा हेलिकप्टरबाटै निर्वाचन सामाग्री,सुरक्षाकर्मी र कर्मचारी पठाइएको उनले बताइन् ।
उनका अनुसार तल्लाे डाेल्पाका मतदान केन्द्रमा भने गाडीबाटै पठाइएको छ ।
सडक सञ्जाल नजाेडिएकाे उपल्लाे डाेल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका २३ मतदान केन्द्रमा सामग्री पुर्याउन चार दिनसम्म हेलिकप्टर प्रयोग गरिएको थियाे ।
एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षुत्र रहेकाे डाेल्पामा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको छ।
जिल्लाभर ३ सय ८३ जना कर्मचारी खटाइएको छ भने २४ हजार १ सय १५ मतदाता आफ्नो मताधिकार प्रयोग गर्न तयारी अवस्थामा छन्।





नेपाल ईन्फम । २०८२ फाल्गुन १९ गते मङ्गलवार