रामचन्द्र न्यौपाने,
डोल्पा — डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा ले ल्यासीक्याप–सिसौल सडक निर्माणका लागि प्रधानमन्त्रीसँग एक अर्ब रुपैयाँ बजेट माग गरेका छन्।
भेरी करिडोर अन्तर्गत पर्ने उक्त सडकको ३३ किलोमिटर ट्र्याक खोल्न उक्त बजेट आवश्यक पर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत विस्तृत प्रस्ताव पेश गरिएको हो।
प्रस्तावमा सडक, स्वास्थ्य, शिक्षा, ऊर्जा, खानेपानी, पर्यटन, कृषि, खेलकुद र सूचना प्रविधि क्षेत्रका बहुआयामिक योजनाहरू समेटिएका छन्।
सडकतर्फ ल्यासीक्याप–सिसौल सडकसँगै दुनै–ल्यासीक्याप खण्ड स्तरोन्नति, दुनै–डोल्पो (उपल्लो डोल्पा) सडक निर्माण तथा स्तरोन्नति, दुनै–जुफाल सडक कालोपत्रे, जुफाल–त्रिपुरासुन्दरी–सुपानी सडक विस्तार, त्रिपुरासुन्दरी–मुकुट–साल्दाङ सडक ट्र्याक खोल्ने, काइके गाउँपालिका र ठूलीभेरी नगरपालिकाभित्रका आन्तरिक सडक सञ्जाल विस्तार, विभिन्न गाउँबस्ती जोड्ने सडक निर्माण, पुल निर्माण तथा भेरी करिडोरका बाँकी खण्डको तीव्र निर्माणका कार्यक्रम प्रस्ताव गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने, आधुनिक उपकरण व्यवस्थापन गर्ने, माथिल्लो डोल्पामा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने, तल्लो डोल्पाका विभिन्न स्थानमा नयाँ स्वास्थ्य संस्था निर्माण गर्ने, सबै स्वास्थ्य चौकीहरूमा आवश्यक जनशक्ति पूर्ति गर्ने र औषधि आपूर्ति नियमित गर्ने योजना अघि सारिएको छ।
शिक्षातर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक क्याम्पस स्तरोन्नति, नमुना आवासीय विद्यालय स्थापना, प्राविधिक तथा सीपमूलक शिक्षालय सञ्चालन, विद्यालय भवन निर्माण, छात्रावास व्यवस्था तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम समेटिएका छन्।
ऊर्जा तथा विद्युत्ततर्फ राष्ट्रिय प्रसारण लाइन विस्तार, लघु तथा मध्यम जलविद्युत् आयोजना निर्माण, सौर्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन, घरधुरीसम्म विद्युत् पहुँच विस्तार तथा विद्युत् सेवाको दिगोपन सुनिश्चित गर्ने योजना प्रस्ताव गरिएको छ।
खानेपानी तथा सरसफाइतर्फ सुरक्षित खानेपानी आयोजना विस्तार, दीगो जलस्रोत संरक्षण, सरसफाइ सुधार तथा दुर्गम बस्तीमा स्वच्छ पानीको पहुँच सुनिश्चित गर्ने कार्यक्रम राखिएको छ।
पर्यटन प्रवर्द्धनका लागि फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र, त्रिपुरासुन्दरी मन्दिर लगायत धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण, पर्यटकीय पूर्वाधार निर्माण, पदमार्ग स्तरोन्नति, होमस्टे प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने योजना प्रस्ताव गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले पनि सम्बन्धित जिल्लाका सांसदबाट सिफारिस भई आएका याेजनाहरु प्राथमिकताका साथ बजेटमा समावेश गरिने बताएको सांसद बुढाले बताए ।







नेपाल ईन्फम । २०८२ चैत्र १८ गते बुधवार