रामचन्द्र न्यौपाने,
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेका दुईवटा झोलुङ्गे पुलका लठ्ठा चुँडिएर जीर्ण बनेपछि दुर्घटनाको जोखिम बढेको छ। गल्लीगार्ड र छलगार्ड खोलामा रहेका पुल लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि मर्मतसम्भार नहुँदा स्थानीयको आवतजावत जोखिमपूर्ण बनेको हो।
त्रिपुराकोट बगरस्थित गलेगल्लीगार्ड खोलामा रहेको झोलुङ्गे पुलको बायाँतर्फको लठ्ठा चुँडिएपछि पुल नै बाङ्गिएको छ। पुल जीर्ण बनेर धरापजस्तै हुँदा पैदलयात्री तथा दुईपाङ्ग्रे सवारीसाधनको आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीय युवा पूर्ण हमालले बताए।
उनका अनुसार पुल जीर्ण भएको जानकारी दिने सूचना बोर्डसमेत राखिएको छैन। रातिको समयमा पुलको अवस्थाबारे जानकारी नभएका व्यक्तिले मोटरसाइकल पार गर्न खोज्दा करिब ५० मिटर तल खसेर गम्भीर दुर्घटना हुन सक्ने जोखिम छ।
‘पुल लामो समयदेखि जीर्ण छ। मानिसहरू यही पुलबाट आवतजावत गरिरहेका छन्। कुनै दिन मानवीय क्षति हुने हो कि भन्ने चिन्ता छ,’ हमालले भने, ‘पुल धरापजस्तै बनेको छ, तर अहिलेसम्म सम्बन्धित निकायले चासो दिएका छैनन्।’
वर्षायाममा खोलामा पानीको बहाव बढ्दा पुल र खाेलाबाट आवतजावत गर्न झनै समस्या हुने गरेको छ। पानी कम भएका बेला स्थानीयले दुईपाङ्ग्रे सवारीसाधनसहित पैदलै खोला तरेर आवतजावत गर्ने गरेका छन्।
स्थानीयका अनुसार नजिकै स्थानीय सरकार र गृह प्रशासनका निकाय भए पनि पुलको जोखिम न्यूनीकरण, मर्मतसम्भार तथा सुरक्षाका लागि आवश्यक पहल भएको छैन। पुलको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै जाँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनीहरूको गुनासो छ।
भेरी करिडोरअन्तर्गत त्रिपुराकोट हुँदै जिल्ला सदरमुकाम दुनै जोड्ने मुख्य मार्गमा पर्ने पुल जीर्ण हुँदा स्थानीय बासिन्दालाई मात्रै नभई डोल्पा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आवतजावतमा समस्या भएको छ। सदरमुकाम आउजाउ गर्ने तल्लो क्षेत्रका बासिन्दा, जिल्ला बाहिर उपचारका लागि जाने बिरामी तथा विद्यार्थीसमेत प्रभावित भएका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–१ कै छलगार्ड खोलामा रहेको अर्को झोलुङ्गे पुलको अवस्था पनि उस्तै छ। उक्त पुलका लठ्ठासमेत लामो समयदेखि चुँडिएर जीर्ण बनेका छन्। पुलको अवस्था कमजोर हुँदा मानिससँगै पशुवस्तुलाई वारपार गराउनसमेत जोखिम हुने गरेको स्थानीय रिठे सार्कीले बताए।
‘पुलका लठ्ठा चुँडिएर जीर्ण बनेका छन्। यस्तो अवस्थामा मानिस र पशुवस्तुलाई वारपार गराउनसमेत जोखिम छ,’ सार्कीले भने।
दुवै पुल स्थानीय बासिन्दाको दैनिक आवतजावतसँग जोडिएका भए पनि जीर्ण अवस्थाका कारण जोखिम बढेको छ। पुलको समयमै मर्मतसम्भार नहुँदा कुनै पनि बेला दुर्घटना हुन सक्ने स्थानीयको चिन्ता छ।
स्थानीयले दुवै पुलको तत्काल प्राविधिक निरीक्षण गरी आवश्यक मर्मतसम्भार गर्न, जोखिमबारे जानकारी दिने सूचना राख्न र सम्भावित दुर्घटना रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।
















नेपाल ईन्फम । २०८३ असोज २७ गते मङ्गलवार