रामचन्द्र न्यौपाने,
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा पर्छ त्रिपुरा माध्यामिक विद्यालय काटियाँचौर । झण्डै एक सय ५० जना विद्यार्थी भएको यस बिद्यालयमा पचास प्रतिशत छात्राहरु अध्ययन् गर्दछन् ।
विस २०१७ सालमा प्राथमिक,२०६५ सालमा निम्न माध्यामिक तह हुँदै २०७२ सालमा माध्यामिक तह सञ्चालनमा आएको यस बिद्यालयमा अध्ययन गर्ने किशोरीहरु अहिले रुपान्तरणको बाटोमा अघि बडिरहेका छन् । विशेष गरेर किशोरीहरु यौन तथा प्रजनन शिक्षाका बारेमा खुलेरै कुराकानी गर्न थालेका छन् ।
जिल्लामा चेतनास्तर पनि कम भएकै कारण दुई बर्ष अघिसम्म यौनिक शिक्षाका बारेमा बोल्नै हिचकिचाउने छात्राहरु अहिले निर्धक्क बोल्ने भएका हुन् ।
यस बिद्यालयमा अध्ययनरत छात्रा विनिका सार्की (नाम परिवर्तन) भन्छिन् ‘म कक्षा आठ देखि यो बिद्यालयमा अध्ययन गर्दै आएको छु । सुरुका एक बर्ष आफ्नै लिंगका साथीहरु र शिक्षिकासँगै बोल्न लाज लाग्थ्यो । शिक्षकसँग त नजिक पर्न नि सक्थिन् ।’
‘म आउँदा स्कुलमै पढिरहेका केटी साथीहरु पनि साह्रै लजाउँथे । कक्षामा सरहरुले पढाउँदा नबुझिएका कुराहरु सोध्न नि आँट आउथेन् । तर, अहिले हामीहरु महिला शिक्षिका त भइ नै हाल्नुभयो । शिक्षकहरुसँग पनि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जिज्ञासाहरु खुलेरै बोल्न,आफ्ना कुराहरु राख्न सक्छौ’ उनले भनिन् ।
‘पहिला महिनावारी हुने छात्राहरुकालागि बिद्यालयले निशुल्क दिने प्याड माग्न निकै समस्या हुन्थ्यो । विद्यालयले एक जना सहयोगी दिदिसँग रेकर्ड राखेर मागेर लैजाने भन्यो । उहाँ नभएको बेला बिद्यालयमा भएका शिक्षिकाहरुसँग माग्नु पर्ने हुथ्यो । कहिले काँही सहयोगी दिदि र शिक्षिका म्यामहरु अनुपस्थित हुँदा निकै समस्या परेको थियो’ उनले अनुभव सुनाइन् ।
‘पछि बृहत्तर यौनिक शिक्षाका बारेमा नियमित कार्यक्रम,कार्यशाला, गोष्ठिहरुमा सहभागीहुन थालेपछि छात्राहरुमा धेरै परिवर्तन आयो । अहिले शिक्षकहरुसँगै महिनावारीका बेला प्याड माग्न सक्छौ । त्यतिमात्र नभई बाल विवाह,महिनावारी हुँदा आइपर्ने समस्याहरु,उमेरसँगै देखिने शारीरिक परिवर्तनकाबारेमा जुनसुकै ठाउँमा पनि सिधै कुरा गर्न सक्छौ ।’
छात्राहरुमा देखिने आकस्मिक शारीरिक परिवर्तन,जिज्ञासा,गुनासा तथा समाधानका उपायकाबारेमा पनि सिधै सोधपुछ गर्न सकिने उनको भनाई छ ।
अहिले पनि डोल्पाका बिकट गाउँबस्तीमा महिनावारी हुँदा गाइको दुध खानुहुँदैन्,टिका लगाउनु हुँदैन्,अरुलाई छुनुहुँदैन् भन्ने किसिमको प्रथा रहेको र यसलाई बिस्तारै कमगर्नकालागि आ–आफ्नो ठाउँबाट सचेतना फैलाइएको बिद्यार्थीहरु बताउँछन् ।
यस विद्यालयमा अहिले छात्राहरुकालागि सुरक्षित महिनावारी कक्षा समेत निर्माण गरिएको छ ।
शुक्रवारे क्रियाकलापमा बाल बिवाह,यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा बक्तित्वकलाकला,कबिता,गित,हाजिरिजवाफ लगाएका प्रतियोगिताहरु हुँदै आएका छन् ।
अहिले यस बिद्यालयका छात्राहरुमा लजाउने बानी हट्दै गएको प्रधानाध्यापक तुलबहादुर बिष्टले बताए ।
‘अहिले हाम्रा छात्राहरु खुलेरै कुरा गर्छन् । स्वास्थ्य सम्बन्धि जुनसुकै कुराहरु निर्धक्क भन्छन् । गाउँ समाज र बिद्यालयमा हुने ब्याड टच का बारेमा पनि हामिसँग आएर भन्छन् । जसले गर्दा कलिला छात्राहरुमा हुने यौनजन्य हिंसामा समेत कमि आउने देखिन्छ’ बिष्टले भने ।
‘विशेष गरेर दुर्गम क्षेत्रमा महिनावारीका बारेमा गलत धाराणा छ । जसको असर बिद्यालयसम्म पनि परेको छ । महिनावारी हुँदा बिद्यालय जानु हुँदैन् ।कसैलाई छुनु हुँदैन् । घर देखि टाढै बस्नुपर्छ ।पानी लगाएत खानेकुरा छुन् मिल्दैन् भन्ने धारणा छ ।’
‘यस प्रकारका गलत धारणाहरुलाई बिद्यालयबाटै चिर्दैछौ । यस प्रकारको सचेतना बिद्यार्थिहरु मार्फत बिद्यालयहुँदै घरसम्म लैजान भनेका छौ । विशेष गरेर बिद्यालयमा बाल बिवाहका कुराहरुलाई पनि जोडदार रुपमा उठाइरहेका छौ जसको प्रभाव बिद्यार्थिहरुमा परेको देखिन्छ’ उनले थपे ।
यसैगरि त्रिपुरासुन्दरी नगरपालिका २ मा रहेको त्रिपुराकोट माध्यामिक विद्यालयमाका छात्राहरु पनि आवश्यक यौनिक शिक्षाका बारेमा खुलेरै बोल्न थालेका छन् ।
‘यहाँका छात्राहरु विगत भन्दा धेरै खुल्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्य जोडिएका कुराहरुमा निर्धक्क सर म्याम सँग कुरा राख्न सक्छन्’ शिक्षिका कमला उपाध्यायले भनिन् ।
‘पहिला आफ्नो स्वास्थ्यमा देखिएका समस्याहरु गुपचुपमै राख्थे । महिनावारी हुँदा भएको समस्या पनि भन्दैनथे । महिनावारी हुँदा आवश्यक पर्ने प्याड आवश्यक पर्दा पनि भन्न सक्दैनथे । अहिले समस्या पर्ने बित्तिकै सरहरुसम्म कुरा आइपुग्छ । यहि नै रुपान्तरण हो ।’
दुई बर्ष अघिबाट डोल्पाका उन्नाइसवटा आधारभुत तथा माध्यामिक बिद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य,बाल बिवाह,महिनावारीका बारेमा समाज जागरण केन्द्रले काम गरिरहेको छ ।
बिद्यालयमा किशोर किशोरीमत्रै वातावरणको निर्माण गर्दै बृहत्तर यौनिक शिक्षाकाबारेमा छात्रछात्राहरुलाई सचेतना फैलाइरहेको हो ।
जिल्लाका विभिन्न स्थानीय तहमा पर्ने माध्यामिक तथा आधारभुत बिद्यालयमा सुरक्षित महिनावारी कक्षनै निर्माण गरिदिएको छ । उक्त कक्षा महिनावारीहुँदा आराम गर्न बेड बिस्तारा,टेबल कुर्सी,थर्मस,औषधी,तौल लिने मेसिन लगायतको ब्यवस्था समेत गरिएको छ ।
जसको प्रत्यक्ष्य रुपमा उन्नाइस बिद्यालयका करिब पन्ध्रसय छात्राहरुले लाभ लिइरहेको कार्यालयले जनाएको छ ।
समाज जागरण केन्द्रले बिद्यालय सँगै समाजका अगुवा,पुजारी धामीझाँक्रि र स्थानीय सरकारसँग समेत समाज रुपान्तरणकालागि कुरिती,कुसँस्कार,सामाजिक विभेदका बिषयमा छलफल,भेला, गोष्ठि गर्दै आएको छ ।





नेपाल ईन्फम । २०८२ चैत्र २२ गते आइतवार