रामचन्द्र न्याैपाने,
डाेल्पा । भेरी करिडोरअन्तर्गत डोल्पाको लासीक्याप–सिसौल सडकखण्ड निर्माण अघि बढाउने विषयमा आज उच्चस्तरीय छलफल भएको छ।
लामो समयदेखि अलपत्र रहेको उक्त खण्डलाई गति दिन काठमाडौमा मन्त्रीस्तरीय छलफल गरिएको हाे ।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात तथा भाैतिक पुर्वाधार मन्त्री माधव चाैलागाँई,नव निर्वाचित सांसद धनबहादुर बुढा,नेपाली सेना तथा सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
कठिन भूगोलका कारण पटक–पटक अवरुद्ध हुँदै आएको निर्माण कार्य कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा केन्द्रीत रहेर कुराकानी भएको सांसद बुढाले बताए ।
लासीक्याप–सिसौल खण्डकाे ३३ किलोमिटर भेरी करिडोरकै सबैभन्दा चुनौतीपूर्ण भाग मानिन्छ। निजी निर्माण कम्पनीहरूले काम गर्न नसक्ने भएपछि यो सडकखण्डको जिम्मा नेपाली सेनालाई दिने निर्णय मन्त्रिपरिषद् ले गरिसकेको छ ।
छलफलमा सेनामार्फत ट्रयाक खोल्नकालागि बजेट व्यवस्थापन गर्ने,काम कहिलेेसम्म सम्पन्न गर्ने विषयमा समेेत छलफल गरिएको बताइएको छ ।
भेरी करिडोर कर्णाली प्रदेशको ‘लाइफलाइन’ सडकका रूपमा लिइन्छ।
बाँकेको जमुनाहदेखि सुरु भएर सुर्खेत हुँदै डोल्पा पार गरी चीन सीमासम्म जोड्ने लक्ष्य राखिएको यो सडकले व्यापार, पर्यटन र स्थानीय जनजीवनमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि अवरुद्ध रहेको लासीक्याप–सिसौल खण्डमा काम सुरु नहुँदा समग्र करिडोर नै प्रभावित हुँदै आएको छ।





नेपाल ईन्फम । २०८२ चैत्र ६ गते शुक्रवार