रामचन्द्र न्याैपाने,
डाेल्पा । हिमाली जिल्ला डोल्पाको प्रमुख प्रशिद्व धार्मिक तथा पर्यटकीयस्थल बाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
भाद्र १५ देखि २२ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हाे ।
महायज्ञको तयारीस्वरूप महायज्ञ सञ्चालक समितिका संयोजक लक्ष्मीकान्त उपाध्यायको अध्यक्षतामा आइतबार बसेको बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ ।
महायज्ञमा आर्थिक व्यवस्थापन,स्वयंसेवा, सांस्कृतिक कार्यक्रम, अनुगमन,अतिथि सत्कार, पूजाआजा व्यवस्थापन, स्वास्थ्य, शान्ति कलश, प्रचारप्रसार लगायतका उप-समिति गठन गरिएको हाे ।
आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा टीकादत्त न्यौपाने, प्रचार–प्रसारमा वरिष्ठ पत्रकार विष्णुप्रसाद देवकोटा, स्वयंसेवकमा पूर्णप्रसाद हमाल, सांस्कृतिक तथा नाचगानमा रविप्रसाद न्यौपाने र अनुगमन तथा मूल्यांकनमा तुलबहादुर बिष्टलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी अतिथि सत्कार तथा भण्डारणमा गीता खत्री, पूजाआजा तथा स्टल व्यवस्थापनमा मोतीप्रसाद उपाध्याय, स्वास्थ्य व्यवस्थापनमा तुलबहादुर नेवार, शान्ति कलश व्यवस्थापन तथा वितरणमा मोतीप्रसाद उपाध्याय, दुना–टपरी तथा फूलमाला व्यवस्थापनमा गोमादेवी उपाध्याय, खानेपानी तथा सरसफाइमा भक्तसिंह कठायत र बाजागाजा व्यवस्थापनमा रणवीर नेपाली राखिएको छ ।
महायज्ञमा नेपालका ख्यातिप्राप्त युवा पण्डित ईश्वर रेग्मीबाट श्रीमद् भागवत कथा प्रवचन हुने आयोजकले जनाएको छ। राष्ट्रिय कलाकारहरूको सहभागितामा भजन–कीर्तन, झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिनेछ।
विश्वशान्तिको कामनासहित धनधान्याचल, पितृमोक्ष तथा शालग्राम पूजार्चनालगायत धार्मिक अनुष्ठान गरिने तयारी छ।
महायज्ञमा सहयोग गर्ने दानदाताका लागि सहयोग रकमअनुसार रसिद, प्रमाणपत्र, फ्रेम तथा शिलालेखमा नाम समावेश गर्नेसहित विशेष सम्मानको व्यवस्था गरिएको छ।
महायज्ञमा बीस हजारभन्दा बढी सहयोग गर्ने दानदातालाई विशेष सम्मानसहित पञ्चेबाजाका साथ यज्ञमण्डप परिक्रमा, पचास हजारभन्दा बढी सहयोग गर्ने दानदातामध्येबाट सो दिनको सभानायक घोषणा गरी स्थानीय बजार परिक्रमा गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
त्यसैगरि एक लाख वा सोभन्दा बढी सहयोग गर्ने दानदाताको परिवारको नाम शिलालेखमा राखिने व्यवस्था गरिएको छ।





नेपाल ईन्फम । २०८३ साउन ३१ गते आइतवार