यातायात समितिकाे मनपरि

डोल्पाबाट चल्ने लामोदुरीका बसमा व्यक्ति पिच्छे फरक–फरक भाडा

रामचन्द्र न्यौपाने,
डोल्पा । हिमाली जिल्ला लामोदुरीका बस तथा गाडीहरुमा टिकट काउन्टर र ब्यवसायिहरुले मनपरी रुपमा भाडा उठाउने गरेको पाइएको छ ।
दुनै–काठमाण्डौ,काठमाण्डौ–दुनै तथा दुनै–नेपालगञ्ज,नेपालगञ्ज–दुनै चल्ने रात्रीबसहरुले यात्रुहरुबाट फरक–फरक भाडा लिने गरेको पाइएको हो ।
गत शुक्रबारमात्र काठमाण्डौबाट डोल्पा संयुक्त यातायातको बस मार्फत डोल्पा पुगेका यात्रुहरुलाई फरक–फरक भाडा उठाएको यात्रु पन्न नेवारले गुनासो पोखे ।
‘आफुले आधाबाटोको तीन हजार तिरे । कसैलाई डोल्पासम्मै पच्चीस सय देखि तीन हजारमात्र उठाएको छ । बसका डोल्पा र काठमाण्डौमा रहेका टिकट काउन्टरहरु यात्रुको हाउभाउ लुवाइखुवाई हेरेर मनपरी रुपमा भाडा उठाउने गरेको पाइन्छ’ नेवारले भने ।
यसरी यात्रुलाई हेरेर पैसा उठाउँदा सबैभन्दा धेरै सोझासाझा मान्छेहरु मारमा पर्ने गरेको उनको भनाइ छ ।
आसन्न निर्वाचनमा भोट हाल्न फर्केका उपल्लो डोल्पाका यात्रुहरुबाट चार हजार आठ सय देखि पाँच हजारसम्म उठाएको उनले बताए ।
डोल्पा संयुक्तमात्र नभई बटालियन यातायात,मजबुद यातायात,मैयाँ काजी लगायतका समिति मार्फत सञ्चालित बसका डोल्पा देखि काठमाण्डौसम्म राखिएका टिकट काउन्टरहरुले मनरुपरी रुपमा भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ ।
डोल्पाबाट काठमाण्डौ जाने जस्तै डोल्पाबाट नेपालगञ्ज जानु रात्री बसहरुले पनि मनपरी भाडा उठाउने गरेका छन् ।
यसरी यात्रुहरुबाट मनपरी भाडा असुल्दा समेत डोल्पामा राखिएका ठाउँ ठाउँमा राखिएका प्रहरी र ट्राफिक प्रहरीका चेक पोष्टहरुले कुनै चासो नदिने गरेको यात्रुहरुको गुनासो छ ।
यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुक बहादुर खड्काले यस बिषयमा गम्भिर भएकाले तुरुन्तै भाडादर चेक गर्न निर्देशन दिएको बताए ।
जिल्लामा राखिएका विभिन्न बसका काउन्टरहरुबाट काटिने बसका टिकटमा भाडादरमा एक रुपता कायम गर्न विभिन्न प्रहरी पोष्टमा निर्देशन दिइसकेको समेत उनले बताए ।
यता डाेल्पा संयुक्त यातायात समितिका बुकिङ् इन्चार्ज जीवन वलीले यस बिषयमा आफू मातहतका कर्मचारीलाई बुझ्ने बताए ।
काठमाडौ डाेल्पाकाे भाडादर ५ हजार ८ सय भएपनि यात्रुकाे गन्तव्य अनुसार फरक-फरक भाडा उठाउने गरेकाे उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया