राजनीति

रास्वपा उम्मेदवार ऐडीकाे प्रतिबद्वता : डिजिटल साक्षरता देखि उपचारमा ड्राेन प्रयाेगसम्म 

रामचन्द्र न्याैपाने,
डाेल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पाका उम्मेदवार देव सिंह ऐडीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
उनले आईतबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जिल्लामा आपतकालीन सेवा, डिजिटल प्रविधि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पर्यटन, सुशासन र युवा सशक्तीकरणलाई समेटिएको उक्त प्रतिबद्धताले डोल्पालाई आधुनिक र आत्मनिर्भर बनाउनमा जाेड दिने बताए ।
दुर्गम हिमाली क्षेत्र—विशेषतः माथिल्लो डोल्पामा आपतकालीन अवस्थामा मेडिकल आपूर्ति र बिरामी उद्धारका लागि ड्रोन प्रविधि प्रयोग गरिने बताएको छ । त्यस्तै, विश्वसनीय इन्टरनेट र मोबाइल नेटवर्क विस्तार, एमेच्योर रेडियोमार्फत आपतकालीन संचार सुदृढीकरण तथा आधुनिक विपद् पूर्वसूचना प्रणाली स्थापना गर्ने योजना अघि सारिएको उनकाे भनाइ छ ।
प्रतिबद्धता पत्रमा डिजिटल साक्षरता र रोजगारीमा जोड दिँदै विद्यार्थी, ज्येष्ठ नागरिक तथा सबै वर्गका नागरिकका लागि डिजिटल साक्षरता र सीप विकास कार्यक्रम सञ्चालन गरिने बताएको छ ।
सेवा नपुगेका क्षेत्रहरूमा निःशुल्क सार्वजनिक वाइफाइ हटस्पट, सरकारी सेवाको डिजिटलिकरण, नवप्रवर्तन केन्द्र स्थापना, छात्रवृत्ति, टाढाबाट काम गर्ने (रिमोट) रोजगारी विस्तार तथा ब्लकचेन र स्मार्ट सम्झौताबारे जनचेतना र प्रयोगको पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
स्वास्थ्य र शिक्षामा सुधार गर्दै स्थानीय स्वास्थ्य चौकीमा आधुनिक उपकरण र तालिमप्राप्त जनशक्ति उपलब्ध गराई सेवा स्तर उकासिने उल्लेख गरेको छ।
डोल्पाका दुर्गम बस्तीका नागरिकका लागि टेलिमेडिसिन नेटवर्क विस्तार तथा नियमित स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय पूर्वाधार सुधार, डिजिटल सिकाइ उपकरण, खेलकुद र नेतृत्व विकास कार्यक्रममार्फत युवा सशक्तीकरणमा जोड दिइएको छ।
पूर्वाधार, ऊर्जा र वातावरणमा जोड दिँदै सडक पहुँच सुधार, सूक्ष्म जलविद्युत र सौर्य ऊर्जा विस्तार, स्वच्छ पिउने पानी र सरसफाइ अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।
जिल्लामा रहेका नाका र खनिज सम्भावनाको पुनःअन्वेषण गरी उद्योग स्थापना गर्न सरकारसँग पहल गरिने प्रतिबद्धता पत्रमा छ।
सदरमुकाम दुनै बजार आसपास नदी–नालामा फोहोर व्यवस्थापनका लागि रिसाइक्लिङ उद्योग स्थापना तथा शे-फोक्सुण्डो ताल जाने मार्गमा प्लास्टिक निषेध गर्दै प्रत्येक तीन वर्षमा ‘फोक्सुण्डो म्याराथन’ आयोजना गर्ने योजना पनि समेटिएको छ।
कृषि, पर्यटन र आर्थिक विकासमा आधुनिक कृषि प्रविधि, बजार पहुँच, साना व्यवसाय र कटेज उद्योग विकासमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। आयुर्वेदिक औषधि र जातीय वनस्पतिको अनुसन्धान–व्यावसायिकरण, दिगो पर्यटन प्रवर्द्धन, होमस्टे विकास र वातावरण संरक्षणलाई प्राथमिकता दिइनेछ रास्वपाले जनाएको छ ।
सुशासन र सहभागिता जोड दिँदै डेटा-आधारित निर्णय, पारदर्शी बजेट, नियमित सार्वजनिक प्रतिवेदन र समुदायसँग खुला संवादमार्फत सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
विदेशमा रहेका युवालाई स्वदेश फर्काउन अवसर सिर्जना गर्दै ‘ब्रेन ड्रेन’ रोक्ने कार्यक्रम पनि प्रस्ताव गरिएको छ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार ऐडीले स्पष्ट लक्ष्य आधुनिक, पारदर्शी र दिगो विकासमार्फत डोल्पाका प्रत्येक परिवारलाई जोड्ने, सशक्त बनाउने र समृद्धितर्फ उन्मुख गराउने उनले बताए ।



तपाईको प्रतिक्रिया