जगदुल्ला बाढीपीडितलाई नगदसहित खाद्यान्न, लत्ताकपडा र त्रिपाल हस्तान्तरण

रामचन्द्र न्यौपाने,
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् कमाण्ड पोस्टमार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ।
उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन सञ्चालन केन्द्रको समन्वयमा संकलित राहत सामग्री प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकाय लाई हस्तान्तरण गरेकी हुन्।
हस्तान्तरण गरिएको राहत सामग्रीमा २५ थान त्रिपाल, १ बोरा भुजा, ५ बोरा चिउरा, ६ कार्टुन चाउचाउ, १० थान कम्बल, ६ थान बाल्टिन, ८ थान जग, २ कार्टुन बिस्कुट, २२ थान शाल, ५ थान डेग्ची, १ थान पाल, १५ थान पाइन्ट, ३० थान बच्चाको सर्ट–पाइन्ट, १५ थान लेडिज स्वेटर, १६ थान जुत्ता, ५० थान चप्पल तथा नगद ४२ हजार ५ सय १५ रुपैयाँ रहेका छन्।
उक्त सामग्री सोमबार प्रभावित परिवारलाई वितरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसअघि नै जगदुल्ला गाउँपालिकाले बाढीपीडितका लागि ४ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिसकेको छ।
गाउँपालिका अध्यक्ष रोकायका अनुसार पूर्ण रूपमा विस्थापित ८ घरधुरीलाई प्रतिघरधुरी ३० हजार रुपैयाँका दरले २ लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ।
त्यस्तै आंशिक क्षति व्यहोरेका १९ घरधुरीलाई प्रतिघरधुरी १० हजार रुपैयाँका दरले १ लाख ९० हजार रुपैयाँ उपलब्ध गराइएको छ।
बाढीमा ज्यान गुमाएकी ५६ वर्षीया आनन्दी विक को परिवारलाई थप ५० हजार रुपैयाँ राहत प्रदान गरिएको छ।
गाउँपालिकाका अनुसार बाढीबाट ३५ घरधुरी प्रभावित भएका छन् भने ७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन्। प्रभावित परिवारलाई हाल आफन्तका घरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरी का अनुसार बाढीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन गरिएको छ।
लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पसेर घर, अन्नपात र अन्य सामग्रीमा क्षति पुर्‍याएको थियो।

प्रशासनले राहत वितरणसँगै पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिकाका अध्यक्ष नारासिंह राेकाएले जनाए ।



तपाईको प्रतिक्रिया