रामचन्द्र न्यौपाने,
डाेल्पा । डाेल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार अपराह्न १ः४० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप जगदुल्ला गाउँपालिका–५ मौरेलेख क्षेत्रमा सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जीपमा चालकसहित १२ जना सवार रहेका थिए। दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। घाइतेहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
घाइते हुनेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका–६ का २८ वर्षीय लालदेवी रोकाया, ४० वर्षीय आभास रोकाया, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धिरेन्द्र बुढाथाेकी, २ वर्षीय पृतम बुढा, काइके गाउँपालिका–३ का ४४ वर्षीय विमप्रसाद बुढा, त्रिपुरासुन्दरी नगरपालिका–७ की ४५ वर्षीया नन्दसरा शाही, सिजा गाउँपालिका–३ का ६३ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गुठीचौर गाउँपालिका–४ का ६६ वर्षीय नितानन्द अधिकारी तथा जीप चालक चन्दननाथ नगरपालिका–८ जुम्लाका ३५ वर्षीय विन्दास रावल रहेका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अनिलराज गिरीले बताए ।





नेपाल ईन्फम । २०८३ असार २१ गते आइतवार