रामचन्द्र न्यौपाने,
डोल्पा । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिका वडा नं ६ सिमेनकी छुल्डिम साङ्मो गुरुङ्गले ६६ बर्षको उमेरमा दुई छोरासँगै नागरिकता पाएकीछन् ।
उनी ६६ बर्षको उमेरसम्म अनागरिक थिइन् । बिहिबार प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले बिदाको दिनमा पनि आज उनिसँगै उनका दुई छोरालाई नागरिकता प्रदान गरेकाहुन् ।
नागरिकता प्रदान गर्दै प्रजिअ कोइरालाले प्रक्रिया पुरागर्न नसक्दा ६६ बर्षसम्म नेपाली नागरिक भएर पनि अनागरिक हुनु अत्यन्तै दुखत कुरा भएको बताए । 

उनि भन्छन् ‘यो कुरामा राज्य र सरकारको प्रतिनिधिको हिसाबमा म माफि माग्छु । उहाँहरु तीन जनालाई नागरिकता दिँदा म अत्यन्तै खुशी भएको छु । त्यहि भएर पनि बिदाको दिनमा पनि दिनभर कार्यालयमा बसेर नागरिकता दिलाए ।’
‘उपल्लो डोल्पामा नागरिकता नलिएका धेरै नागरिक भएको सुन्छु । म डोल्पा बसुन्जुल सबै नेपाली नागरिकहरुले नियम अनुसार नागरिकता दिलाउने प्रयास गर्नेछु’ उनले थपे ।
छुल्डिमका बुवा आमाको सानैमा निधन भएपछि उनले आजसम्म पनि नागरिकता पाएकी थिइनन् ।

उनकी दिदिले पाएको नागरिकता र गाउँपालिकाका अध्यक्ष कार्मा छोइबेल गुरुङ्ग,उपाध्यक्ष पेम्मा धार्के गुरुङ्ग र वडाध्यक्ष नुर्बु गुरुङ्ग लगायत स्थानीयको सनाखतमा नागरिकता दिइएको प्रजिअ कोइरालाले बताए ।
आमालेनै नागरिकता नहुँदा उनका जेठा छोरा दावाछिरिङ् गुरुङ्गले ३६ बर्षको उमेरमा कान्छा छोरा छिरिङ् गुरुङ्गले २३ बर्षको उमेरमा आमासँगै आजमात्र नागरिकता पाएका हुन् ।

छुल्डिमका पतिको मृत्यु भइसकेको छ । नागरिकता नपाउँदा उनि राज्यले प्रदान गर्ने बुद्ध भत्ता र एकल महिला भत्ताबाट छ बर्षसम्म बञ्चित हुनु परेको थियो ।
त्यतिमात्र होइन आफ्नी आमाले नागरिकता नपाउँदा आफुले नागरिकता नपाएको र आफुले नागरिकता नपाउँदा आफ्ना तीन सन्तान र भाइको एक सन्तान समेतले नागरिकता नपाउने अवस्था रहेकोमा सिडियोले कोइरालाले नागरिकता दिलाएको भन्दै जेठा छोरा दावा छिरिङ्गले खुशी व्यक्त गरे ।

पुरा बंशनै अनागरिक बन्नुपर्ने अवस्था आएपछि गाउँपालिकाका जनप्रतिनिधि र प्रजिअको प्रयासले आफुले नागरिकता पाएको उनले बताए ।
‘आफ्नो नागरिकता नहुँदा मेरी छोरीको जन्मदर्ता समेत बनेन् । जसको कारणले बिद्यालय भर्नागर्न पनि समस्या भयो । छोरीले सरकारले उपलब्ध गराउने दिवाखाजा समेत पाउन छोडिन् । त्यतिमात्र होइन गाउँघरमा बन्ने उपभोक्ता समितिमा समेत बस्न पाइन्’ छुल्डिमका कान्छा छोरा दावाछिरिङ् गुरुङ्गले दुखेसो पोखे ।
उनले खच्चडमा सामान ओसारपसार गर्ने पेसा अँगालेकाछन् ।

उपल्लो डोल्पालीलाई नागरिकता लिन सदरमुकाम आएर फर्किन दुईसातासम्म लाग्नुका साथै पचास हजारसम्म खर्च गर्नुपरेको वडाध्यक्ष नुर्बु गुरुङ्गले दुखेसो पोखे ।
जतिसक्दो चाँडो उपल्लो डोल्पासम्म मोटरबाटो जोडिनुका साथै ईलाका प्रशासन कार्यालय स्थापना भइदिएको भए यि सबै समस्या समाधानहुने उनको भनाइ छ ।





नेपाल ईन्फम । २०८२ मङ्सिर १९ गते बिहिवार