रामचन्द्र न्यौपाने,
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने रुपगार्ड तातोपानी कुवा लोपहुने खतरामा पुगेको छ ।
प्राकृतिक रुपमा जमिनबाट निस्केको तातोपानीको उक्त कुवा संरक्षणको अभावमा लोपहुने खतरामा पुगेको हो ।
जिल्लाको प्रमुख पर्यटकीय गन्तब्य भित्र पर्ने तातापानीको कुवा आसपासको क्षेत्र रुपगार्ड खोलाले बर्षेनी कटान गर्न थालेपछि लोपहुने खता बडेको हो ।
यस अघि दुईवटा कुवा रहेकोमा एउटा कुवा अघिल्लो बर्षमात्रै रुपगार्ड खोलामा आएको भेलले पुरेको हुम गाउँका स्थानीय तुलाराम बुढाले जानकारी दिए ।
‘अहिले एउटा कुवामात्र छ । त्यो कुवा पनि पुरिने सम्भावना देखिन्छ । प्रकृतिको कुवाको रुपमा रहेको तातोपानी क्षेत्र संरक्षणमा ठुलिभेरी नगरपालिकाले ध्यान दिनुपर्छ’ बुढाले भने ।
‘त्यतिमात्र होइन एउटामात्र कुवालेमात्र सर्वसाधारणको घुँइचो धान्नसक्ने अवस्था छैन् । जसले गर्दा पालो पर्खेर नुहाउनु पर्छ । त्यसपनि महिलाहरु घण्टौ कुरेर पनि पाउँदैनन् ।’
‘स्थानीय सरकारले चासो दिएमा भएको एउटा कुवाबाटै चारवटा कुवासम्म बनाउन सकिने सम्भावना छ । कुवाको आडमा मेसिनरी वाल हालेर थप कुवाहरु बिस्तार गर्न सकिन्छ ’उनले थपे ।
प्रत्येक बर्ष मंसिर महिना देखि चैत्रसम्म तातोपानीमा नुहाउन जाने सर्वसाधारणको घुँइचोनै लाग्ने गर्दछ ।
तातोपानी कुवामा नुहाउनाले छालाजन्य रोगहरु,हाडजोर्नी दुख्ने,मुटु रोग लगायतका बिभिन्न प्रकारका रोगहरु निकोहुने जनविश्वास रहेको छ ।
ठुलिभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण कुमार बुढाले तातोपानी क्षेत्र संरक्षणकालागि स्थानीय सरकार सुरुदेखिनै लागिरहेको बताए ।
उक्त क्षेत्रलाई पुर्ण रुपमा ब्यवस्थित बनाउन पन्ध्र करोडको डिपिआर गरिएकोले निकट भविश्यमा प्रदेश र संघिय सरकारबाट बजेट ब्यवस्थापन गरेर निर्माण सुरु गरिने उनको भनाइ छ ।
थप कुवाहरु निर्माण गर्नकालागि सकेसम्म यसै आर्थिक बर्ष भित्र काम सुरुगर्ने नगर प्रमुख बुढाले बताए ।
पछिल्लो समयम आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि तातोपानी क्षेत्रमा प्लालिस्टकजन्य फोहोर पनि बडेको छ । आफु लिएका फोहोरहरु जथाभाबी फाल्न थालेपछि जताततै फोहोर देखिन्छ ।
उक्त क्षेत्रमा फोहोर ब्यवस्थापन गर्न ठुलो खाडलको आवश्यक रहेको त्रिपुरा माध्यामिक बिद्यालय काटियाचौरका प्रधानाध्यापक तुलबहादुर बिष्टले बताए ।
‘तातोपानी नुहाउन आउनेहरुले फोहोरमैला गर्नाले तातोपानी क्षेत्र दुघन्धित बन्न थालेको छ । हाम्रो बिद्यालयबाट गएको टिमले केही क्षेत्रको फोहोरमैला टिपेर जलायाँै’ उनले भने ।
यसको दिर्घकालिन ब्यवस्थापन गर्न डिभिजन वन कार्यालय र ठुलिभेरी नगरपालिकाको ध्यान जानुपर्नेको उनको भनाइ छ ।
डिभिजिन बन कार्यालय डोल्पाका प्रमुख जितेन्द्र महतले सकेसम्म यसै आर्थिक बर्ष भित्र ठुलो खाडल निर्माण गरिने बताए ।
यससँगै रुपगार्डबाट तातोपानीसम्म जाने बाटो धेरै अप्ठेरो भएकाले थप सुधारगर्नु पर्ने सर्वसाधारणको माग छ ।





नेपाल ईन्फम । २०८२ मङ्सिर १६ गते सोमवार