डोल्पा | राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैटौं स्थापना दिवसको अवसरमा डोल्पा शाखाले शैक्षिक सामग्री वितरण गरेको छ। संघले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित हिमज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना सहित शैक्षिक सामग्री वितरण गरेको हो।
आईतबार संघको स्थापना दिवसको अवसरमा जिल्ला शाखाका अध्यक्ष पुर्ण सार्की द्वारा विद्यालयमा अध्ययनरत झण्डै ५० जना विद्यार्थीहरुको उज्वल भविष्यको कामना सहित एक जना विद्यार्थी बराबर एउटा कपी र कलम बितरण गरिएको हो। 
दलित समुदायका विद्यार्थीहरूको लागि मात्रै २०५१ सालमा स्थापना गरिएको युक्त विद्यालयमा गुणस्तरीय शैक्षिक स्तर सगै अहिले अधिकांश समुदायको पहिलो रोजाइ बन्दै गरेको छ। विद्यालयमा अझै पनि ८० प्रतिशत दलित सार्की समुदायका विद्यार्थीहरुले पठनपाठन गर्दै आइरहेका छन्।
विद्यालयका प्रधानाध्यापक मन बहादुर सार्कीले स्थापना दिवसमा विद्यार्थीको उज्वल भविष्यको लागि थोरै भएपनि शैक्षिक सामग्री वितरणको लागि आफ्नो विद्यालयलाई सम्झेकोमा संघ र जिल्ला शाखाका अध्यक्ष सार्कीलाई धन्यवाद दिँदै स्थापना दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरे।

देश भर विभिन्न सञ्चार माध्यममा आवद्ध समग्र दलित समुदायका छाता संगठनको रुपमा करिब १२ सय दलित पत्रकारहरुको पेसागत हकहितका संरक्षणका लागि २०७६ साल जेठको १८ गते नेपाली पत्रकारिता क्षेत्रका अग्रज पत्रकार विनोद पहाडीेको नेतृत्वमा संघको विधिवत रूपमा घोषणा गरिएको थियो । संघको स्थापना भएको छैटौं वर्षको अवधिमा देश भरका ७७ वटै जिल्लामा जिल्ला शाखाको गठन गरिएको छ। सोही अनुरूप संघको शाखा डोल्पामा पनि गठन गरी सार्कीको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ।





नेपाल ईन्फम । २०८२ जेष्ठ १९ गते आइतवार