रामचन्द्र न्यौपाने,
डोल्पा । जीवनभर दुःख र अभावसँग संघर्ष गर्दै आएकी त्रिपुरासुन्दरी नगरपालिका–१ की ६० वर्षीया टीका गिरीको जीवनमा अहिले झन् ठूलो बज्रपात परेको छ।
दुःखसुख बाँड्ने र गाउँगाउँमा दान मागेर ल्याई दुवै जनाको पेट पाल्ने एकमात्र सहारा भाइ गुमाएपछि उनी बेसहारा बनेकी छन्। घरमा खानेकुरा छैन, जग्गाजमिनको नाममा एक टुक्रा पनि छैन। अपांगताका कारण सहजै हिँडडुल गर्न नसक्ने टीकाका लागि अहिले बिहान–बेलुकाको छाक टार्नु नै ठूलो चुनौती बनेको छ।
गत भदौमा उनका ५५ वर्षीय भाइ भुपिनन्द गिरीको अचानक पेट दुख्यो। एक रात बिरामी परेका उनको घरमै मृत्यु भयो। भाइको मृत्युले टीकालाई भावनात्मक रूपमा मात्रै होइन, दैनिक जीवन धान्ने आधारबाट समेत वञ्चित गरिदिएको छ। भाइको निधनपछि घरमा चुलो बाल्नसमेत मुस्किल परेको उनले सुनाइन्।

‘भाइ हुँदा गाउँगाउँमा गएर दान मागेर ल्याउँथ्यो। त्यही दानले हामी दिदीभाइको गुजारा चल्थ्यो। अहिले भाइ पनि रहेन। घरमा खानेकुरा छैन, थोरै चामल मात्रै बाँकी छ,’ टीकाले भनिन्, ‘अब मेरो सहारा कोही छैन। गाउँघरमा पनि कसैले हेर्दैन। म कसरी बाँच्नु?’
भाइको मृत्युको शोकबाट सम्हालिन नपाउँदै टीकालाई अब कसरी जीवन गुजार्ने भन्ने चिन्ताले पिरोलिरहेको छ। शारीरिक अशक्तताका कारण आफैं काम गरेर खान सक्ने अवस्था पनि छैन।
‘भाइ बितेपछि म एक्लै भएँ। खानेकुरा छैन, लगाउने लुगा छैन। कतै मानव सेवा आश्रममा राखिदिने व्यवस्था भए हुन्थ्यो,’ उनले भावुक हुँदै भनिन्।
टीका आफैं पनि अशक्त छिन्। डोजरले खुट्टा किचेपछि उनी अपांग भएकी हुन्। खुट्टामा समस्या भएपछि उनलाई हिँडडुल गर्न निकै कठिन हुन्छ। शारीरिक अशक्तता, आर्थिक अभाव र आफन्तको सहारा नहुँदा उनको जीवन झन् कष्टकर बनेको छ।

दुई कोठे घर, तर छैन सुरक्षित बास
आर्थिक अवस्था कमजोर भएपछि त्रिपुराकोटका स्थानीयले बनाइदिएको दुई कोठे घरमा टीका बस्दै आएकी छन्। तर घरमा बिजुली छैन। पानी पर्दा घरभित्र पानी चुहिने र रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उनले बताइन्। सुत्नका लागि पर्याप्त ओछ्यान र लगाउनका लागि आवश्यक लत्ताकपडासमेत नभएको उनको भनाइ छ।
‘पानी पर्दा रातभर सुत्न पाइँदैन। घरमा बत्ती छैन। खानेकुरा र लगाउने कपडासमेत छैनन्,’ उनले भनिन्।
आफ्नो नाममा जग्गाजमिन नहुँदा खेतीपाती गरेर खाने सम्भावना पनि छैन। भाइले गाउँगाउँमा पुगेर दान मागेर ल्याएपछि दुई जनाको छाक टर्ने गरेको थियो। अहिले त्यही सहारा गुमेपछि उनको जीवन कसरी अघि बढ्छ भन्ने चिन्ता थपिएको छ।
दिदीभाइ दुवै अविवाहित
स्थानीय रत्नबहादुर बिष्टका अनुसार टीका र उनका भाइ भुपिनन्द पहिलेदेखि नै दुःख, गरिबी र बेसहाराको जीवन बिताउँदै आएका थिए। दुवै जनाले विवाह गरेका थिएनन्। उनीहरू एकअर्काका दुःखसुखका साथी र सहारा थिए।
‘टीका र उनका भाइ पहिलेदेखि नै निकै दुःखमा थिए। भाइले गाउँगाउँमा दान मागेर ल्याउँथे र दिदीभाइको गुजारा चलाउँथे। अहिले भाइको मृत्यु भएपछि टीका एक्लै परेकी छन्,’ बिष्टले भने, ‘कुनै मानव सेवा आश्रममा लगेर संरक्षण गर्ने व्यवस्था मिलाउन सके ठूलो धर्म हुने थियो।’
भाइको मृत्युले टीकाको जीवनमा रहेको अन्तिम सहारासमेत खोसिएको छ। उमेर ढल्किँदै गएको छ, शरीरले साथ दिँदैन र आर्थिक अवस्था सुधार्ने कुनै आधार छैन।
घरमा रहेको थोरै चामल सकिएपछि के खाने भन्ने चिन्ताले उनलाई सताइरहेको छ।

टीकालाई अहिले खाद्यान्न, लत्ताकपडा, सुरक्षित आवास र नियमित हेरचाहको आवश्यकता छ। स्थानीय सरकार, सामाजिक संघसंस्था तथा मानव सेवामा क्रियाशील संस्थाले उनको अवस्थाबारे ध्यान दिएर आवश्यक सहयोग र संरक्षणको व्यवस्था मिलाउन सके उनको बाँकी जीवन केही सहज बन्न सक्छ।
दुःखसुखमा साथ दिने भाइ गुमाएकी टीका अहिले कसैको सहयोगको प्रतीक्षामा छिन्। उनको एउटै प्रश्न छ—‘अब म कसको सहारामा बाँच्नु?’
उनका भाइ स्थानीय भैरम मन्दिरका पुजारी समेत थिए ।
















नेपाल ईन्फम । २०८३ असोज २७ गते मङ्गलवार