निर्वाचन

डाेल्पामा प्रमुख दलका उम्मेदवारकाे जिल्लागत घाेषणा पत्र खाेई ? स्वतन्त्रकाे भने सार्वजनिक

डाेल्पा । हिमाली जिल्ला डाेल्पामा प्रमुख दलका उम्मेदवारले नै घाेषणा पत्र सार्वजनिक गरेका छैनन् ।
जिल्लामा नेपाली कम्युनिष्ट पार्टी,नेकपा एमाले,नेपाली काङ्ग्रेस लगायतका मुख्य राजनीतिक दलका उम्मेदवारले नै घाेषणा पत्र सार्वजनिक नगरेका हुन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रगतिशील लाेकतान्त्री पार्टीले पनि घाेषणा पत्र सार्वजनिक नगरेका हुन् ।
अहिले उम्मेदवारहरु घाेषणा पत्र सार्वजनिक नगरेरै निर्वाचन लक्षित कार्यक्रममा घरदैलो तथा पार्टीगत कार्यक्रम गरिरहेका छन् ।
तर,स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले भने घाेषणापत्र सार्वजनिक गरेका छन् ।
मंगलबार पत्रकारहरु भेटघाट गर्दै सात बुदे घाेषणापत्र सार्वजनिक गरेका हुन् ।
उनले जिल्लामै कृषि, जडीबुटी र पर्यटन क्षेत्रकाे विकास गरेर रोजगारीकाे अवसर सिर्जना गरेर युवालाई गाउँमै रोक्ने उनकाे घाेषणा पत्रमा उल्लेख गरिएको छ ।
त्यतिमात्र नभई डोल्पालाई भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गर्दै जनताले विश्वास गरेर दिएकाे मतकाे पुर्ण रुपमा सदुपयोग गर्ने उनले बताए ।
लामाेसमय सामाजिक सेवामा सक्रिय भएर निर्वाचनमा हाेमिएका केसीले प्रेस कुकर चुनाव चिन्हमा पाएका छन् ।
एक निर्वाचन क्षेत्र भएको डाेल्पामा कुल नाै जना उम्मेदवारी दिएका छन् । त्यसमा उज्यालो नेपाल पार्टीका दिल बहादुर बिष्ट र मितेरी नेपाल पार्टीकी उम्मेदवार जुनु भण्डारीले काङ्ग्रेसका उम्मेदवार कर्ण बहादुर बुढालाई सहयोग गर्ने बताउँदै पार्टी प्रवेश समेत गरिसकेका छन् ।
काङ्ँग्रेस प्रवेश गरेका दुबै उम्मेदवारले उम्मेदवारी भने फिर्ता नलिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
डाेल्पामा नेपाली काङ्ग्रेसबाट कर्ण बहादुर बुढा, नेपाली कम्युनिस्ट पार्टीबाट धन बहादुर बुढा, नेकपा एमालेबाट लंक बहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट विकास बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरी प्रसाद डाँगी र स्वतन्त्रबाट ओमेन्द्र बहादुर केसी चुनावी मैदानमा छन् ।



तपाईको प्रतिक्रिया