रामचन्द्र न्यौपाने,
डोल्पा । हिमाली जिल्ला डोल्पामा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित फ्लप फिगर होटलमा कोठा भाडामा लिएर बसेका व्यक्तिले लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले मंगलबार राति करिब ११:५० बजे छापा मारेको थियो।
प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी कोठा तलासी गर्दा ठूलीभेरी नगरपालिका–८ का २५ वर्षीय सन्तोष भण्डारी र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का २३ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए ।
तलासीका क्रममा प्लास्टिकसहित ०.१४ ग्राम र प्लास्टिकबाहेक ०.४४ ग्राम गरी जम्मा ०.५८ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट रु ६२ हजार ५ सय नगद तथा विभिन्न कम्पनीका तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।





नेपाल ईन्फम । २०८३ साउन १३ गते बुधवार