, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–२ रविओपीकी अम्बिका चौलागाईं अहिले स्थानीय साहु र सहकारीबाट ऋण लिएर घर चलाइरहेकी छिन् । सासू, श्रीमान् र दुई छोराछोरी सहितको परिवार धानिरहेकी अम्बिकाका श्रीमान् बिरामी छन् । दूध बेचेर जीवन चलाउने अम्बिकालाई अहिले भने ऋणले अत्याउन लागिसकेको छ ।
दुइटा गाईको दूध बेचेर दिनको एक हजार रुपैयाँ आम्दानी गर्ने उनले मंसिरदेखि दूधको भुक्तानी पाएकी छैनन् । ‘महिनामा ५ हजार त श्रीमानलाई उपचार खर्चै लाग्छ । दुइटा बच्चा पढाउनुपर्छ । दूधको पैसा नपाउँदा खान–लाउन नै सकस भइसक्थ्यो’, चौलागाईंले भनिन् ।
सधैं दूध लिने सेतीदेवी दुग्ध सहकारी संस्थाले अब ऋण समेत दिन नसक्ने अवस्था आएको छ । सधैं हाँस्दै दूधको क्यान बोकेर जाने अम्बिका अहिले मलिन अनुहारमा दूध सहकारीमा छोडेर आउने गरेकी छिन् । ‘सहकारीबाट ऋण लिएर घर–व्यवहार चलाइरहेका छौं । अब त्यो ऋण पनि नपाइने अवस्था आयो । हाम्रो त बिजोग नै हुनेभयो’, उनले दुःख पोखिन् ।
‘गाईलाई घाँस मात्रै खुवाएर हुँदैन ढुटो, चोक्कर पनि खुवाउनै पर्यो । अब उल्टै ऋण गर्नुपर्ने भयो’ उनले भनिन्, ‘बुढाको उपचार पनि अब गर्न सकिंदैन, यसरी पैसा नदिने हो भने त हामी त झुन्डिने अवस्था आउँछ ।’
यो रविओपीको ६०० भन्दा धेरै किसान घरपरिवारको कथा हो । स्थानीय किसान भगवती कोइरालाले सरकारका कारणले किसान अब पलायन हुने बताइन् । ‘लम्पी स्किनले ६ महिना अगाडि गाई मर्यो, अहिले सरकारले पैसा नदिएर किसान मार्न खोज्दैछ’, दूधको भुक्तानी नपाएकोमा आक्रोशित कोइरालाले भनिन् ।
‘गाईवस्तु पालेर जीवन चलाउनु साह्रै गाह्रो । आफूले गरेको दुःखको पैसा छैन । दिनमा १५–१६ लिटर दूध सहकारीमा दिन्छौं, आम्दानी छैन । ऋण मागेर कति दिन चल्ने ?’ उनले प्रश्न गरिन् । कोइरालाका भनाइमा ५ महिनादेखि ऋणका भरमा उनको जीवन चलिरहेको छ ।
‘अब के किसान भनेर बस्नु, घरको मान्छे विदेश जानुपर्ने भइसक्यो । घरबाट बाहिर निस्किने वित्तिकै पैसा चाहिन्छ, वल्लोपल्लो घरमा पैसा मागौं सबैको हालत उस्तै छ । खै सरकार छ कि छैन भन्ने नै थाहा छैन’, उनले अनलाइनखबरसँग दुःखेसो पोखिन् ।
एउटा गाउँकै १० करोड बक्यौता
रविओपी दूध उत्पादक किसानहरूको गाउँ हो । गाउँका सबै किसानले सेतीदेवी दुग्ध सहकारी संस्थामा दूध संकलन गर्ने गरेका छन् । सहकारीका व्यवस्थापक हरिहर अधिकारीका अनुसार, सेतीदेवीमा रविगाउँका ६५० घरधुरीबाट १ हजार ५० किसान शेयर सदस्य छन् ।
‘यो क्षेत्रका किसानले हाम्रो सहकारीमा ल्याएर दूध बेच्छन् । हामीले चिस्यान गरेर डीडीसी (दुग्ध विकास संस्थान) र निजी डेरीहरूलाई बेच्छौं’ अधिकारीले भने । उनका भनाइमा, सहकारीमा ७ हजार ६०० लिटर दैनिक दूध संकलन हुन्छ । ५० प्रतिशत भन्दा धेरै दूध डीडीसीलाई र बाँकी निजी डेरीहरूलाई बिक्री गर्ने गरिन्छ ।
‘हामीले सबैभन्दा धेरै दूध डीडीसीलाई बेच्ने भएपछि भुक्तानी पनि डीडीसीकै बढी छ । निजी डेरीको करिब दुई महिनादेखिको भुक्तानी बाँकी छ । करिब ६ करोड रुपैयाँ जति हाम्रो सहकारीले मात्रै भुक्तानी लिन बाँकी छ’, व्यवस्थापक अधिकारीले भने ।
उनका भनाइमा केही समय अगाडिसम्म किसानलाई ऋण गरेर पैसा दिने गरिएको भए पनि अब भने नसक्ने अवस्था आएको छ । ‘डीडीसी र निजी डेरीलाई भुक्तानी दिनुपर्यो भनेर हामीले पैसा मागेको माग्यै छौं, तर उहाँहरूले दूधबाट उत्पादन हुने वस्तु बिक्री नभएर भुक्तानी दिन नसकेको भन्दै हुनुहुन्छ’, उनले भने ।
दूधको भुक्तानी नहुँदा यस गाउँका किसानको गुजारामा नै समस्या भइरहेको छ । त्यसमा पनि ठूलो फार्म चलाउने व्यावसायिक किसानहरूले तराईबाट पराल, भुस ल्याउनुपर्ने हुँदा चरम आर्थिक संकट परिरहेको छ ।
‘यहाँ एउटाबाट दुईवटा गाई पाल्ने क्रम बढिरहेको बेला बजारमा यो समस्या आएपछि किसानहरू पलायन हुने चिन्ता थपिएको छ’ अधिकारी भन्छन्, ‘यो क्षेत्रमा पाँच वटा भन्दा बढी गाई, भैंसी पाल्ने व्यावसायिक किसान धेरै छन् । तर अब युवाहरूमा यो पेशाप्रति आकर्षण घटेर गाई बेचेर विदेश जाने चर्चा हुन थालेको छ ।’
धुलिखेल–२ का वडाध्यक्ष अर्जुन न्यौपानेले पूरै वडा नै निराशामा रहेको बताए । ‘गाउँभरि दुग्ध किसान छन्, पैसा नपाउँदा पूरै गाउँमा तनाव छ । चाडपर्व, बिहे–ब्रतबन्ध हुन नसक्ने भइसक्यो । यत्रो दूध उत्पादन गर्ने गाउँ पैसा नभएर टाट पल्टिएको छ’, स्थानीय किसान समेत रहेका वडाअध्यक्ष न्यौपानेले भने ।
आफ्नो वडाबाट दैनिक १० हजार लिटर दूध संकलन हुने र एउटै गाउँले १० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनले बताए । ‘म आफैं दैनिक २०० लिटर दूध संकलन गरेर सहकारीमा बेचिरहेको छु । मंसिरदेखि भुक्तानी पाएको छैन । महिनाको ५ लाख रुपैयाँ मैले नै भुक्तानी पाएको छैन । मेरो नै २५ लाख भन्दा बढी उठाउन बाँकी छ । गाउँभरि त्यही समस्या छ । हालत कस्तो होला अनुमान गर्नु न’, न्यौपानेले भने ।
लाखौं लगानी गरेर गाई पालेका किसान अब गाउँमा बस्न नसक्ने अवस्था आएकोले गाउँ नै रित्तिने डर भएको उनको भनाइ छ । ‘अति भयो भनेर हामीले आन्दोलन पनि गर्यौं । त्यसपछि २१ चैतसम्ममा भुक्तानी दिने भनेर केन्द्रीय दुग्ध सहकारी संघसँग सम्झौता भयो । अनि आन्दोलन स्थगित भयो । तर अहिलेसम्म भुक्तानी पाइएको छैन’, उनले भने ।
काभ्रेकै मण्डनदेउपुर कुन्ताबेसीको दूध संकलन गरेर बेच्ने उमादेवी दुग्ध सहकारी पनि किसानलाई पैसा दिन नसकेर समस्यामा छ । ‘किसानहरूले सहकारी घेर्न थालिसके, कात्तिक दोस्रो हप्तादेखि डीडीसीले पैसा दिएको छैन । सहकारीले ऋण खोजेर पुसको पहिलो हप्तासम्म त किसानलाई बाँड्यो । त्यसपछि दिन सकेको छैन’, व्यवस्थापक तुलाराम सापकोटाले भने ।
‘किसानहरू छटपटाएर दाना, ढुटो किन्न नसकेको भन्दै यहाँ नै आउँछन्, अब दूध बेच्ने किसान गाई–भैंसी नै पाल्न नसक्ने अवस्थामा पुगेपछि समस्या त हुने नै भइहाल्यो नि’ उनले भने, ‘हाम्रो यहींको एउटा सहकारीलाई मात्रै डीडीसीले एक करोड र निजी डेरीले ५० लाखभन्दा धेरै रकम दिन बाँकी छ ।’ सापकोटाका भनाइमा कुन्ताबेसीमा मात्रै यस्ता ६–७ वटा सहकारी छन्, सबैतिर लगभग अवस्था यही छ ।
उमादेवी दुग्ध सहकारीमा दूध बेच्ने स्थानीय किसान मुरलीप्रसाद पौडेल अब गाईवस्तु पाल्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । ‘म दिनको १० लिटर दूध बेच्छु । पैसा नहुँदा अब धेरै दिन गाईवस्तु पाल्न सक्ने अवस्था छैन’ उनले भने, ‘गाईलाई खुवाउन दाना किन्ने पैसा पनि छैन, बारीको घाँसले मात्रै गाईको दूध आउने कुरा भएन ।’
एशोसिएसनका अनुसार दूध उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, शहरबाट मानिस विस्थापित, आर्थिक मन्दी लगायत कारण छन् । नेपालमा भन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिएर पनि नेपाली दूधको बजार घटेको हो ।
एशोसिएसनका अनुसार अहिले मुलुकमा दैनिक ३३ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये २७ लाख लिटर खपत हुन्छ भने ५ लाख लिटर बढी दूधको दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्ने हुन्छ । तर, त्यसको पनि खपत नभएपछि डेरी उद्योगहरूले किसानलाई सहकारी मार्फत उठाएको दूधको भुक्तानी गर्न सकेका छैनन् ।
डीडीसीले बजारमा दूध उपभोक्ता घटेकाले किसानको रकम भुक्तानीमा समस्या रहेको बताउँदै आएको छ । डीडीसीका एक कर्मचारीका अनुसार करिब १ अर्ब २२ करोड मूल्य बराबरको दूध उत्पादन स्टक भएर बसेको छ । ‘किसानसँग किनेको दूधको परिकार बनाएर बजारमा पठाएको वस्तु बिक्री नहुँदा हाम्रो पूँजी त्यहीं रोकिएको छ, त्यसैले गर्दा किसानलाई दिने भुक्तानी रकम रोकिएको हो’, ती कर्मचारीले भने ।
दुग्ध उत्पादक किसान र डेरी उद्योगका प्रतिनिधिहरूसँग २१ चैत २०८० सम्म किसानको दूधको बाँकी बक्यौता रकम भुक्तानी गर्ने पाँचबुँदे लिखित सहमति गरे पनि दुग्ध विकास संस्थानले रकम भुक्तानी नगर्दा किसानहरू समस्यामा परेका हुन् ।
कृषि मन्त्रालयले २१ चैतमा पुस मसान्तसम्मको दूधको रकम भुक्तानी गर्ने लिखित सहमति गरे पनि रकम भुक्तानी नभएको बाँकेको कम्दीस्थित जय श्रीराम डेरीका सञ्चालक राम सुहावन यादव बताउँछन् । यादवले दूध बिक्री गरेको करिब १ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
देशैभरका दुग्ध उत्पादक किसानहरूले १५ असोज २०८० देखि संस्थानबाट दूधको भुक्तानी पाएका छैनन् । ६ महिनादेखि भुक्तानी नपाएका किसानहरूलाई २१ चैतमा पैसा आउँछ भनेर डेरी सञ्चालकहरूले आश्वासन दिंदै आएका थिए । तर २१ चैतमा पनि पैसा नआएपछि डेरी सञ्चालक र किसानहरू तनावमा छन् ।
६ महिनादेखि किसानको रकम भुक्तानी गर्न नसकेका संस्थानका महाप्रबन्धक संजिव झाको कार्यकाल १३ चैतमा सकिएको छ । २२ चैतमा नयाँ महाप्रबन्धकमा कृषि मन्त्रालयका सहसचिव सूर्य पौडेल नियुक्त भएका छन् ।
१९ फागुन २०८० मा तात्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुसाल समेतको उपस्थितिमा कृषि मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, दुग्ध विकास संस्थान (डीडीसी) का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले २१ चैत २०८० सम्म दूधको बाँकी बक्यौता रकम भुक्तानी गर्ने लिखित सहमति गरे पनि अहिलेसम्म कृषकले भुक्तानी पाउन सकेका छैनन् ।





नेपाल ईन्फम । २०८० चैत्र २४ गते शनिवार