डोल्पाजस्तो भौगोलिक रूपमा विकट र सीमित स्रोतसाधन भएको ठाउँमा यसप्रकारकाे जटिल शल्यक्रिया सफल हुनु अस्पतालले ठूलो उपलब्धिका रूपमा लिएको छ ।
अस्पतालका अनुसार १० हजार एपेन्डिसाइटिसका बिरामीमध्ये मुश्किलले एक जनामा मात्र यस्तो असामान्य अवस्थाको एपेन्डिक्स भेटिने गर्छ ।
३५ वर्षीया महिलालाई चार दिनदेखि पेट दुख्ने र ज्वरो आउने समस्या भएपछि भदौ ११ गते जिल्ला अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।
नजिकैको स्वास्थ्य चौकीबाट दुखाइ र ज्वरोको औषधि सेवन गरे पनि समस्या कम नभएपछि वाकवाकी लाग्ने र भोक नलाग्ने समस्या देखिएको थियो ।
परीक्षणका क्रममा पेटको दाहिने भाग तथा कम्मर आसपास कडा दुखाइ देखिनुका साथै रगतमा संक्रमणको मात्रा बढेको र अल्ट्रासाउन्डमा एपेन्डिक्स सामान्यभन्दा ठूलो देखिएको थियो ।
बिरामीलाई थप उपचारका लागि सुर्खेत लैजान चिकित्सकले सुझाव दिएका थिए । तर सडकमार्गबाट सुर्खेत पुग्न १३–१४ घण्टा लाग्ने तथा तत्काल हवाई उद्धारको सम्भावना नभएपछि बिरामीको अवस्था बिग्रँदै गएसँगै अस्पतालमै शल्यक्रिया गर्ने निर्णय गरिएको थियो ।
शल्यक्रियाका क्रममा एपेन्डिक्स सामान्य स्थानमा नभेटिएपछि चिकित्सकले विभिन्न सम्भावित स्थानमा खोजी गरेका थिए ।माथिल्लो भागसम्म चिरा विस्तार गरेर खोज्दा अन्ततः कलेजोको तल्लो भागमा पीप जमेको र कुहिएको अवस्थामा एपेन्डिक्स भेटिएको थियो ।
निकै माथिल्लो तथा भित्री भागमा रहेको एपेन्डिक्सलाई विशेष उपकरणको प्रयोग गरी सुरक्षित रूपमा निकालिएको हो ।
‘यो निकै दुर्लभ र चुनौतीपूर्ण अवस्था हो । १० हजार एपेन्डिसाइटिसका केसमा मुश्किलले एउटा यस्तो केस भेटिन सक्छ,’ शल्यक्रियाको नेतृत्व गरेका एमडीजीपी विशेषज्ञ चिकित्सक डा. बिदुर तिवारीले भने, ‘एपेन्डिक्स सामान्य ठाउँमा नभएकाले खोज्न र निकाल्न निकै चुनौती थियो । तर सीमित स्रोतसाधनका बाबजुद समयमै निर्णय गरेर शल्यक्रिया गर्न सकिएकाले बिरामीलाई जोगाउन सफल भएका छौं ।’
उनका अनुसार यसअघि पनि जिल्ला अस्पतालमा सामान्य प्रकारको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिए पनि यसप्रकारकाे शल्यक्रिया भएको थिएन् ।
यसपटक सामान्य स्थानमा नरहेको एपेन्डिक्सको जटिल शल्यक्रिया गर्न सफल हुनु अस्पतालका लागि थप उपलब्धि भएको उनले भने ।
शल्यक्रियापछि बिरामीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । शल्यक्रियाको ७२ घण्टापछि ड्रेनबाट आउने तरल पदार्थ १० मिलिलिटरभन्दा कम भएपछि ड्रेनसमेत निकालिएको छ ।
शल्यक्रियामा मुख्य शल्य चिकित्सक डा. बिदुर तिवारीसँगै मेडिकल अफिसर डा. इच्छा शाह र डा. सुजन कठायत, एनेस्थेसिया असिस्टेन्ट रञ्जित शाह, स्टाफ नर्स निस्ता रामजाली र सिनियर स्टाफ नर्स मुना रसाइली सहभागी थिए ।
विशेषज्ञ चिकित्सक बस्न थालेपछि पछिल्ला केही वर्षयता जिल्ला अस्पतालमै सुत्केरी, हर्नियालगायतका विभिन्न शल्यक्रियाका उपचार हुँदै आएका छन् ।
यसअघि सामान्य एपेन्डिसाइटिसको शल्यक्रियासमेत जिल्लामै सफलतापूर्वक गरिएको थियो ।
विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्धतासँगै जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै हुन थालेपछि दुर्गमका बिरामीलाई उपचारका लागि सुर्खेत,काठमाडौ लगायतका सहरमा धाउनुपर्ने बाध्यता घट्दै गएको अस्पतालले जनाएको छ ।





नेपाल ईन्फम । २०८३ भाद्र १५ गते सोमवार