चोरी मुद्दामा पक्राउ परेका व्यक्ति लागूऔषध मुद्दाका फरार प्रतिवादी

रामचन्द्र न्यौपाने,
डोल्पा । हिमाली जिल्ला डोल्पामा चोरी मुद्दामा पक्राउ परेका एक व्यक्ति लागूऔषध (अफिम) मुद्दाका फरार प्रतिवादी रहेको खुलेको छ।
चोरीको घटनामा पक्राउ परेका रुकुम पश्चिमका ३८ वर्षीय तिलक भण्डारी रुकुम पश्चिममा दर्ता भएको लागूऔषध मुद्दामा दुई बर्ष भन्दा धेरै समयदेखि फरार रहेको पाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले बताए।
यहि महिनाकाे ८ भदाैमा डोल्पोबुद्ध गाउँपालिका–२ कलाङमा तीन घरमा चोरी गरेकाे सूचनाका आधारमा प्रहरीले १० भदाैमा उनिसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
डिएसपी गिरीका अनुसार तिलक भण्डारीविरुद्ध रुकुम पश्चिममा ०८१ साउन ७ गते लागूऔषध (अफिम)कसुरमा मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दामा २०८२ वैशाख ७ गते प्रहरी प्रतिवेदन पेस भएको र अदालतको कारबाहीबाट उनी फरार रहेको अनुसन्धानका क्रममा खुलेपछि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमसँग समन्वय गरिएको डीएसपी गिरीले बताए।
पक्राउ परेका दुवै जनाको साथबाट ७ सय थान यार्सागुम्बा, सुनजस्तो देखिने चन्द्रमा एक थान चाँदीजस्तो देखिने बाला दुई थान,१ लाख ४८ हजार ६ सय ५० रुपैयाँ नगद, एन्ड्रोइड मोबाइल तीन थान, कीप्याड मोबाइल दुई थान, स्मार्ट घडी दुई थान,पावर बैंक दुई थान लगायतका सामाग्री बरामद गरिएको थियाे ।
उनिसँगै अर्का पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदीका ३२ वर्षीय निशान भण्डारी रहेकाछन् ।



तपाईको प्रतिक्रिया