रामचन्द्र न्याैपाने,
डाेल्पा । दुर्गम हिमाली जिल्ला डोल्पामा बिरामी परेर अस्पताल पुग्न नसक्ने नागरिकका लागि प्रहरी नै भरपर्दो सहारा बन्दै गएको छ।
गाउँघरमै पुगेर बिरामीलाई उद्धार गरी अस्पतालसम्म पुर्याउने अभियानमार्फत डोल्पा प्रहरीले नागरिकको ज्यान जोगाउने कामलाई निरन्तरता दिएको छ।
पछिल्ला केही दिनमै प्रहरीले जिल्लाका विभिन्न दुर्गम बस्तीबाट तीन जना गम्भीर बिरामीको उद्धार गरी जिल्ला अस्पताल दुनै पुर्याएको छ।
भौगोलिक विकटता, सडक पहुँचको अभाव र आर्थिक कठिनाइका कारण उपचारबाट वञ्चित हुन सक्ने बिरामीलाई प्रहरीले घरबाटै बोकेर तथा आवश्यक यातायातको व्यवस्था मिलाएर अस्पतालसम्म ल्याउने गरेको छ।
असार २९ गते काईके गाउँपालिका–७ लाउनबगरका ३८ वर्षीय धावन सिरिङ बुढाको स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी सहयोगको माग गरिएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी शहरताराबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उनलाई उद्धार गरी जिल्ला अस्पताल दुनै पुर्यायो।
यसअघि असार २८ गते काईके गाउँपालिका–४ निवासी अन्दाजी ७० वर्षीया तेन्जिङ गुरुङ शरीरको तल्लो भाग नचल्ने अवस्थाका कारण बिरामी परेपछि प्रहरी टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो।
त्यसैगरी असार २३ गते डोल्पोबुद्ध गाउँपालिका–१ धोकी ४१ वर्षीया बिमला विक पेटसम्बन्धी समस्याले गम्भीर बिरामी भएपछि इलाका प्रहरी कार्यालय छार्काबाट खटिएको टोलीले उद्धार गरी जिल्ला अस्पताल पुर्याएको थियो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले नागरिकको जीवन रक्षा प्रहरीको पहिलो दायित्व भएकाले दुर्गम क्षेत्रमा समेत उद्धार अभियानलाई प्राथमिकतामा राखिएको बताए।
“कुनै नागरिक बिरामी भएर अस्पताल पुग्न नसकेको सूचना प्राप्त भए प्रहरी तत्काल खटिन्छ,” उनले भने, “कसैलाई बोकेर, कसैलाई गाडीको व्यवस्था गरेर भए पनि उपचारसम्म पुर्याउने प्रयास गरिरहेका छौं।
समयमै उपचार पाएर धेरैको ज्यान जोगिएको छ।”
उनका अनुसार हालसम्म दर्जनौँ बिरामीलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याइसकेको छ। विशेषगरी सडक पहुँच नपुगेका तथा पैदल यात्रा गर्न नसक्ने बिरामीका लागि प्रहरी टोली जीवनरक्षक बनेको छ।
स्थानीयवासीका अनुसार विगतमा बिरामीलाई अस्पताल पुर्याउन नसक्दा सामान्य रोगसमेत जटिल बन्ने अवस्था थियो। पछिल्लो समय प्रहरीको सक्रियताले दुर्गम बस्तीका नागरिकमा सुरक्षा निकायप्रति भरोसा बढेको छ।
मानवीय उद्धार कार्यसँगै डोल्पा प्रहरीले जिल्लामा लागुऔषध नियन्त्रण, जुवातास नियन्त्रण, सडक सुरक्षा तथा सचेतनामूलक अभियानलाई पनि तीव्रता दिएको छ।
प्रहरीले मानवीय सेवासँगै जिल्लामा बढ्दो लागुऔषध दुरुपयोग नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ। ‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्दै प्रहरीले पहिलोपटक सवारी चालकहरूमाथि लागुऔषध सेवन परीक्षण (ड्रग टेस्ट) गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी जुनु हमालको नेतृत्वमा गरिएको विशेष चेकजाँचका क्रममा लागुऔषध सेवन गरेर सवारीसाधन चलाइरहेका दुई जनालाई नियन्त्रणमा लिइएको थियो।
परीक्षणमा लागुऔषध सेवन पुष्टि भएपछि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
गत जेठ २० गते त्रिपुरासुन्दरी नगरपालिका–१ बाट गाँजासहित एक जनालाई पक्राउ गरी मुद्दा नै चलाइएको थियो।
“लागुऔषध सेवन गरेर सवारी चलाउने कार्यले चालक मात्र होइन, सडक प्रयोग गर्ने अन्य नागरिकको ज्यानसमेत जोखिममा पार्छ,” डीएसपी गिरीले भने, “यस्ता गतिविधिविरुद्ध डोल्पा प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको छ र आगामी दिनमा पनि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइनेछ।” डिएसपी गिरीले भने ।
प्रहरीका अनुसार डोल्पामा यसअघि सवारी चालकमाथि लागुऔषध सेवन परीक्षण गरिएको उदाहरण थिएन।
सडक सञ्जाल विस्तारसँगै सवारी आवागमन बढिरहेका बेला सडक सुरक्षालाई ध्यानमा राखेर यस्ता परीक्षण नियमित बनाइएको छ ।
यससँगै प्रहरीले जिल्लाका विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट उखेलेर नष्ट गर्ने अभियान पनि सञ्चालन गरिरहेको छ। उत्पादन, ओसारपसार, बिक्रीवितरण र सेवन नियन्त्रणका लागि स्रोतस्थरमै पुगेर नियन्त्रणका प्रयासहरू अघि बढाइएको डीएसपी गिरीकाे भनाइ छ ।
प्रहरीले जुवातास नियन्त्रण, सचेतनामूलक कार्यक्रम, आकस्मिक तथा नियमित सवारी चेकजाँचलाई पनि तीव्रता दिएको जनाएको छ।
स्थानीयवासीले प्रहरीको सक्रियतालाई नागरिकको सुरक्षा, सडक अनुशासन र लागुऔषध नियन्त्रणका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
थप तस्बिरहरू






नेपाल ईन्फम । २०८३ असार ३१ गते बुधवार