रामचन्द्र न्यौपाने,
डोल्पा । प्रत्येक बर्ष डोल्पामा घट्ने गरेका विपद्का घटनाहरुमा स्थानीय सरकारनै उदासीनहुने गरेको गुनासो आएको छ ।
विशेष गरेर बर्षातको समयमा धेरै आइपर्ने बाढी,पहिरो लगायतका विपद्का घटना न्युनिकरण गर्नकालागि जिल्लाका स्थानीय सरकारका प्रतिनिधिहरुले नै चासो नदिएको गुनासो आएको हो ।
‘यस बर्ष डोल्पामामात्रै बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका घटनाबाट करिब २६ सय जना बिस्थापित हुने अनुमान गरिएको छ,त्यसको तयारी जिल्ला विपद् ब्यवस्थापन समितिले सक्दो गरिरहेको छ’ समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने ।
‘जिल्लाको विपद् ब्यस्थापनमा सबैभन्दा ठुलो भुमिका भनेकै स्थानीय तहसँग छ,त्यतिमात्र नभई स्रोत साधनमा पनि स्थानीय तह अगाडी नै छ,तर स्थानीय तहका जनप्रतिनिधिहरु नै विपद्का घटनाहरु घट्न नदिन पुर्व तयारी गर्न जिम्मेवार देखिनुहुन्न ।’
स्थानीय तहका जनप्रतिनिधिहरु जिल्लाको बैठकमै नआउने गरेको प्रजिअ महतको गुनासो छ ।
‘फोन गर्दा फोन उठ्दैन,बैठक राख्दा आउनु हुदैन् डोल्पामा विपद्को सबैभन्दा ठुलो चुनौति यहि छ’ प्रजिअ महतले भने ।
जिल्ला विपद् ब्यवस्थापन कोषमा संघिय सरकारबाट पन्ध्र लाख रकम र प्रदेश सरकारबाट पनि केही रकम आएकाले यसै रकमबाट यस बर्ष आइपर्ने विपद्का घटनाको पुर्व तयारी गरिएको उनले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले यस बर्ष आइपर्ने विपद् घटनासँग जुध्न बजेट ब्यवस्थापन गर्नुका साथै राहत तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति पनि तयारी अवस्थामा रहेको बताए ।
त्यसैगरि जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिँह रोकायले बर्षातको समयमा आइपर्ने विपद्का घटनाहरुप्रति गम्भिर भई विपद् ब्यवस्थापन कोष खडा गर्नुका साथै उद्धार तथा राहतका सामाग्री खरिद गरिएको बताए ।
त्रिपुरासुन्दरी र जगदुल्ला गाउँपालिकाले जस्तै डोल्पाका अन्य पालिकाले पनि विपद् ब्यवस्थापनको तयारी गरेको बताएका छन् ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाले विपद् ब्यवस्थापनको तयारी पुरा गरेको छ ।
गाउँपालिका भित्र विपद् घटना घटेको अवस्थामा उद्धार गरेर राख्नकालागि सुरक्षित स्थानको समेत ब्यवस्थापन गरिएको अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।
उनि भन्छन् ‘पालिकाको श्रोत साधनबाट सामान्य प्रकारका जोखिममात्र बहन गर्न सकिन्छ,ठुला जोखिमको हकमा राज्यले नै सहयोग गर्नुपर्छ ।’
दैवीप्रकोप सँग जोडिएका सामाग्रीहरु खरिद गरि वडा र प्रहरी चौकीमा पठाउनुको साथै बिपत ब्यवस्थापन कोष समेत खडा गरिएको अध्यक्ष शाहीले बताए ।
काइेके गाउँपालिकाका अध्यक्ष अंगत रानाले गाउँपालिका भित्रहुने विपद्का घटनालाई न्युनिकरण गरि तत्काल राहत तथा उद्धारकार्य गर्न गाउँपालिका तयारी अवस्थामा रहेको बताए ।
जिल्लाको ठुलिभेरी नगरपालिकाले पनि यस बर्ष आइपर्न सक्ने विपद् घटनाहरुसँग जुध्नकालागि तयारी गरेको बताएको छ ।
नगरप्रमुख सुवर्ण कुमार बुढाले बर्खामा घट्न सक्ने विपद् घटनाहरु सँग जुध्नका लागि नगरपालिकाले गर्न सक्ने सबै प्रकारका तयारीहरु पुरा गरेको बताए ।
डोल्पामा सबै गरेर आठवटा पालिका छन् । उपल्लो डोल्पामा रहेको डोल्पोबुद्ध,छार्काताङ्सोङ् र शे–फोक्सुण्डो गाउँपालिकाले समेत विपद्को पुर्व तयारी गरेको जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुक बहादुर खड्काका अनुसार पछिल्लो चार बर्ष यतामात्रै डोल्पामा १ सय ४१ वटा विपद्का घटनाहरु घटेका छन् ।
जसका कारणले १३ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन् ।
यस बर्ष धेरै बर्षातहुने पुर्व अनुमान गरिएकाले बर्षात लगाएत विभिन्न प्राकृतिक प्रकोपका कारणहुने विभिन्न मानविय घटनाहरुलाई न्युनिकरण गर्न प्रहरी जनशक्ति तयारी अवस्थामा रहनुका साथै स्थानीय तहसँग पनि समन्वय गर्ने काम भइरहेको बताए ।
एकल प्रयासबाट केही गर्न नसकिने भएकाले विपद् घटनाका बारेमा सचेत रहि पुर्व तयारी गर्न स्थानीय सरकारका जनप्रतिनिधिहरु पनि धेरै जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।





नेपाल ईन्फम । २०८२ जेष्ठ २५ गते शनिवार