रामचन्द्र न्यौपाने,
डोल्पा । भेरी करिडोर अन्तर्गत डोल्पाको ल्यासीक्याप–सिसौल सडक खण्डको ट्र्याक तीन वर्षभित्र खोल्ने तयारी गरिएको छ।
३२ किलोमिटर लामो उक्त सडक खण्ड निर्माणका लागि पहिलो चरणमा ८ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यस विषयमा बिहीबार काठमाडौंमा डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,भेरी करिडोर आयोजना र नेपाली सेनाका उच्च अधिकारीबीच छलफल भएको थियो।
छलफलमा सहभागी नेपाली सेनाले आगामी साउन महिनादेखि नै सिसौलतर्फबाट निर्माण कार्य सुरु गर्ने जनाएको सांसद बुढाले बताए।
“सेनाले साउनदेखि नै सिसौलतर्फबाट काम सुरु गर्ने जानकारी दिएको छ,” बुढाले भने, “दुनै–ल्यासीक्याप सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि असोज महिनाबाट ल्यासीक्यापतर्फबाट पनि निर्माण अगाडि बढाइनेछ।”
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थ, उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाका आयोजना निर्देशक धर्मेन्द्र झा, भेरी करिडोरका आयोजना प्रमुख नरेश प्रसाद केशरी, नेपाली सेनाका सहायक रथी अशोक कुमार शाह तथा प्रमुख सेनानी अभिषेक बस्नेत सहभागी थिए।
छलफलमा सहभागी भेरी करिडोरका आयोजनाका प्रमुख नरेश प्रसाद केशरीका अनुसार ल्यासीक्याप–सिसौल खण्डको अधिकांश भाग चट्टानी तथा जटिल भूगोलमा पर्ने भएकाले निर्माण कार्य चुनौतीपूर्ण छ।
“निर्माणलाई प्रभावकारी बनाउन सेनाको क्याम्प स्थापना गरेर काम अघि बढाइनेछ,” उनले भने, “पहिलो चरणमा विनियोजित ८ करोड ८५ लाख रुपैयाँबाट ट्रयाक खोल्ने तथा आवश्यक चट्टान कटानको काम सुरु हुनेछ।”
यससँगै करिडाेरमै पर्ने उपल्लो दुनै र लावनबगरमा बेलिब्रिज निर्माणका लागि सडक विभागसँग आवश्यक पहल गर्ने विषयमा पनि छलफल भएको थियाे ।
भेरी करिडोर उत्तर–दक्षिण लोकमार्गको महत्वपूर्ण खण्ड हो। यो मार्गले नेपाललाई चीन र भारतसँग जोड्ने लक्ष्य राखेको छ। सडक निर्माण सम्पन्न भएपछि डोल्पाको दुर्गम उत्तरी क्षेत्रसम्म यातायात पहुँच विस्तार हुने, स्थानीय उत्पादनको ढुवानी सहज बन्ने तथा पर्यटन र व्यापारिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।





नेपाल ईन्फम । २०८३ असार १८ गते बिहिवार