बेन्च अभाव झेलिरहेको विद्यालयलाई व्यक्तिगत सहयोग

रामचन्द्र न्याैपाने,
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–४ राङस्थित प्रकाश आधारभूत विद्यालयलाई स्थानीय व्यवसायी धर्मजित बोहोराले २५ हजार रुपैयाँ बराबरका छ वटा बस्ने बेन्च सहयोग गरेका छन्।
विद्यालयमा विद्यार्थीलाई बस्न पर्याप्त बेन्च नहुँदा पठनपाठन प्रभावित भइरहेको अवस्थामा प्राप्त सहयोगले अध्ययन–अध्यापनलाई सहज बनाएको विद्यालयका प्रधानाध्यापक कर्णवीर बोहोराले बताए।
उनका अनुसार बेन्च अभावका कारण विद्यार्थीले असहज रूपमा अध्ययन गर्नुपर्ने अवस्था रहेकामा नयाँ बेन्च आएपछि कक्षाकोठाको बसाइ वातावरण सुधारिएको छ।
प्रधानाध्यापक बोहोराले विद्यालयका आवश्यक पूर्वाधार व्यवस्थापनका लागि स्थानीय तहसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको बताए।
यस्तो अवस्थामा निजी क्षेत्रबाट प्राप्त सहयोगले विद्यालयलाई राहत पुगेको उनको भनाइ छ।
त्रिपुरासुन्दरी नगरपालिका–६ का निवासी धर्मजित बोहोरा त्रिपुराकोट बगर बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन्। उ
नले शिक्षाको विकासमा समुदायका सबै पक्षको भूमिका आवश्यक रहेको भन्दै विद्यालयलाई सहयोग गरेका हुन्।
“विद्यालय शिक्षाको मन्दिर हो। व्यक्तिगत रूपमा सानो भए पनि शिक्षा क्षेत्रमा योगदान गर्न पाउँदा खुसी लागेको छ,” बोहोराले भने।
स्थानीयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारका लागि स्थानीय सरकारसँगै निजी क्षेत्र र समाजसेवीहरूको सहयोग आवश्यक रहेको बताएका छन्।



तपाईको प्रतिक्रिया