रामचन्द्र न्यौपाने,
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिका वडा नंम्बर ७ ले आफ्ना वडाबासीलाई राष्ट्रिय परिचयपत्र बनाउनकालागि गाडीनै रिर्जभ गरिदिएको छ ।
शुक्रबार वडाका बृदबृद्धा,एकल पुरुष महिला लगायतका वडाबासीलाई नगरबसनै रिर्जभ गरेर राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय डोल्पामा पुर्याइएको थियो ।
स्थानीय सरकारको प्रत्याभुति दिलाउन बुढापाखा,अशक्त लगायतका व्यक्तिको राष्ट्रिय परिचय पत्र बनाउन बाँकी नागरिकलाई वडाको खर्चमा गाडीनै रिजर्भ गरेर जिल्ला प्रशासन पुर्याएर काम गरेर त्यहि गाडीमा फर्काइएको वडाध्यक्ष धुब्र विक्रम शाहीले बताए ।
‘बुढापाखा र अशक्तलाइ आउजाउ गर्न र प्रक्रियागत समस्या नहोस भनेर सामुहिक रुपमा परिचय पत्र बनाउन दुनै लगिएको हो,यसबाट उहाँहरुलाई धेरै सहज भयो,वडा सचिव र म पनि सँगै प्रशासन गयौँ’ अध्यक्ष शाहीले भने ।
‘यहि मौका पारेर नागरिकता हराएका र जिर्ण भएकाहरुले पनि प्रतिलिपि लिए,एकमुष्ठ काम गर्न प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी लगायतको प्रशासनको टिमले पनि सहयोग गर्यो’उनले भने ।
यस अघि यस वडाले ज्येष्ठ नागरिकलाई ज्याकेट,सिरक वितरण गर्ने देखि ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको थियो ।
अहिले सामाजिक सुरक्षा भत्ता बुझ्न र नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा दैनिकजसो सेवाग्राहीको भिड लाग्ने गरेको छ ।





नेपाल ईन्फम । २०८१ चैत्र २८ गते शुक्रवार