रामचन्द्र न्यौपाने,
डाेल्पा । डोल्पाको व्यापार प्रवर्द्धन, स्थानीय कला–संस्कृतिको संरक्षण तथा प्रचारप्रसार र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यसहित दाेस्रो डोल्पा पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ।
ठूलीभेरी नगरपालिका–दुने बजारस्थित रंगशालामा आगामी साउन ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। महोत्सवमा डोल्पासहित कर्णालीका विभिन्न जिल्लाका कलाकार तथा सांस्कृतिक समूहहरूको प्रस्तुति रहनेछ।
महोत्सवमार्फत डोल्पाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, स्थानीय उत्पादनको बजारीकरण गर्ने तथा जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ।
विशेषगरी स्थानीय कृषि, जडीबुटी, हस्तकला तथा घरेलु उत्पादनहरूको प्रदर्शनी र बिक्री वितरणका लागि पनि महोत्सव महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।
महोत्सवमा चर्चित गायक–गायिका तथा कलाकारहरू प्रकाश सपुत, दुर्गेश थापा, सुमन बिसी, ज्योति मगर लगायतका राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ। साथै स्थानीय कलाकार र सांस्कृतिक समूहहरूले डोल्पाको मौलिक कला, संस्कृति र परम्परा झल्किने कार्यक्रम प्रस्तुत गर्नेछन्।
आयोजकका अनुसार महोत्सवले डोल्पाको पर्यटन प्रवर्द्धनसँगै जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाउन, युवाहरूलाई सिर्जनात्मक गतिविधिमा जोड्न तथा सामाजिक–सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्याउने विश्वास लिइएको छ।
ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको संरक्षणमा आयोजना हुन लागेको महोत्सवमा हजारौं दर्शक तथा आन्तरिक पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ।





नेपाल ईन्फम । २०८३ साउन ७ गते बिहिवार