बालबालिकालाई भनौं- आज हिंड्नुपर्छ

अहिलेका बालबालिकामा बालापान नै हराउँदै गएको हो कि जस्तो लाग्छ । न उनीहरु उन्मुक्त भएर खेल्छन्, न उफ्रिन्छन्, न दौडिन्छन् । जतिबेला पनि ल्यापटप, मोबाइलमा लिप्त हुन्छन् । यस्तो लाग्छ, उनीहरुलाई बुढ्यौलीले छोपिसकेको छ । अर्थात् जाँगर र जोश नै हराइसकेको छ ।

कतै जानुपरेमा गाडी खोज्छन् । मेरो छोराहरुकै कुरा गरौं न । ‘कतै हिंड्न जाऔं बाबु’ भन्यो भने गाडी चाहिन्छ ।

म उनीहरुलाई विकल्प दिन्छु, ‘सार्वजनिक गाडीमा जाऔं न त ।’

उनीहरु अस्वीकार गर्छन्, ‘अल्छीलाग्दो हुन्छ । असुविधा हुन्छ ।’

म भन्छु, ‘साइकलमा जाऔं न त ।’

उनीहरु भन्छन्, ‘साइकललाई सबैले हेप्छन् । बाटो दिंदैन ।’

म भन्छु, ‘त्यसो भए हिंडौं । आफ्नै खुट्टा छँदैछ । फटाफट हिंड्न सकिन्छ । गजब हुन्छ नि ।’

तर उनीहरु यो सर्तमा राजी हुँदैनन् । उनीहरु त सुविधाजनक ढंगले निजी गाडीमै यात्रा गर्न चाहन्छन् । सम्भवत: यो धेरै अभिभावकको साझा भोगाइ होला । छोराछोरीलाई हिंडाउनु भनेको ठूलै प्राप्ति जस्तो हुन थालेको छ ।

बालबालिकाहरु बढी सुविधाभोगी हुँदै गएका छन् । उनीहरु ओछ्यानमा पल्टिएपछि वा सोफामा उत्तानो परेपछि सकेसम्म उठ्न खोज्दैनन् । उठे पनि उफ्रिन, खेल्न खोज्दैनन् । अझ हिंड्न खोज्दैनन् ।

मानौं, नजिकमा विद्यालय छ भने हिंडेर जानु राम्रो हो । कतै किनमेल गर्न, घुमफिर गर्न पनि हिंडेर जानु राम्रो हो, यदि पायकको ठाउँ छ भने । तर बालबालिकाहरु छोटो दूरी छिचोल्न पनि गाडी चढ्न खोज्छन् ।



तपाईको प्रतिक्रिया